विशेष अनलाइन । चलचित्र ‘ कार्साङ ‘ निर्माण युनिट यतिबेला कलाकार सहित पूर्व टुरमा छ । चलचित्रका निर्देशक याम शेर्पा सहित मुख्य कलाकारहरू जितु नेपाल, दिया मास्के सृजना निङ्लेखु लगायतको टिम चलचित्र प्रचारका लागि पूर्व आएको हो । शनिवार इटहरीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रका निर्देशक यम शेर्पाले चलचित्र पारिवारिक रहेको बताए । शेर्पा समुदाय भित्रको कथा रहेको उल्लेख गर्दै निर्देशक शेर्पाले चलचित्र ‘कार्साङ ‘ लाई पुर्बेली दर्शकको साथ मिल्नेमा ढुक्क रहेको बताए ।
जितु नेपालले आफूले चाहेको जस्तै रोल ‘कार्साङ ‘ मा निर्वाह गर्न आएको बताउँदै अथक मेहनत गरेर चलचित्रलाई उत्कृष्ट बनाएको उल्लेख गरे । अभिनेत्री दिया मास्केले ‘कार्साङ’ मा काम गर्ने विषयमा एक मिनेट पनि नसोची तयार भएको बताइन । टिजरमा आफूले बोलेको संवादले चर्चा पाएको कुरालाई उल्लेख गर्दै अभिनेत्री मास्केले चर्चा पाएको जस्तो अर्थ नलाग्ने बताइन् । उक्त संवाद दोहोरो अर्थ लाग्ने नभएको बताउँदै त्यसको अर्थ बुझ्न पुस २६ पर्खिनु पर्ने अभिनेत्री मास्केको भनाई थियो । अभिनेत्री सृजना निङ्लेखुले आफूलाई मन पर्ने कलाकार दयाहाङ राई रहेको बताउँदै उनको अपोजिटमा काम गर्न पाउनु गर्वको कुरा भएको बताइन् । आफू लिम्बू समुदायको भए पनि शेर्पा भएर प्रस्तुत हुनु चुनौतीपूर्ण रहेको बताउँदै उनले चुनौतीसँग डटेर पाएको सफलता थप उत्साहजनक हुने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानले राम्रा नेपाली चलचित्रलाई पुर्वले सधैं साथ दिएको बताए । बिगतमा हल नै रिजर्भ गरेर चलचित्र हेरेको स्मरण गर्दै ‘कार्साङ’ लाई पनि विगतका चलचित्रलाई जस्तै साथ रहने प्रधानको भनाई थियो ।
टोलीले इटहरी पछि दमक तथा विराटनगरमा समेत पत्रकार भेटघाट गरेका थिए ।
चलचित्रमा अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । उनले चलचित्र ‘कार्साङ’ मा‘ शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् ।
शेर्पाको डेब्यु निर्देशन रहेको ‘कार्साङ’ मा कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । चलचित्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको पनि अभिनय छ ।
चलचित्र यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्र पुस २६ गतेबाट अल नेपाल प्रदर्शनमा आँउदै छ ।
Discussion about this post