विशेष अनलाइन । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। बुधबार उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको इजलासले यसअघि चलचित्र रोक्न दिएको आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि चलचित्र चल्ने पक्का भएको हो। अब यो चलचित्र आगामी शुक्रबार, वैशाख २५ गतेदेखि हलहरूमा लाग्ने निर्माण कम्पनी षट्कोण आर्ट्सले बताएको छ।
चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले अदालतको आदेशसँगै अब शुक्रबारदेखि नै चलचित्र चल्ने जानकारी दिए। उनले भने, ‘हामीले कुनै पनि समुदाय वा वर्गको भावनामा चोट पुग्ने गरी चलचित्र बनाएका थिएनौँ। यो त एउटा सामाजिक कथा मात्र हो, जसलाई अब दर्शकले हेर्न पाउनेछन्।’
खत्रीका अनुसार यो चलचित्रले आमा र छोरीको कथालाई समेटेको छ। छोरीको राम्रो भविष्यका लागि एउटी आमाले समाजमा कतिसम्म संघर्ष गर्नुपर्छ र कस्ता दुख झेल्नुपर्छ भन्ने कुरालाई नै यसले मुख्य विषय बनाएको छ। चलचित्रले विशुद्ध रूपमा आमाको त्याग र ममताको कथा भन्छ।
लामो समयको विवाद र कानुनी प्रक्रियापछि चलचित्र प्रदर्शन हुन लागेकाले निर्माण टोली अहिले निकै उत्साहित देखिएको छ। चलचित्रले समाजको यथार्थ चित्रण गर्ने र दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ।
यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत लगायतका कलाकारको अभिनय रहेको छ।









Discussion about this post