विशेष अनलाइन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गायक तथा निर्माता रामकृष्ण ढकालको निर्माणमा बनेको चलचित्र ‘मालती मङ्गले’को प्रिमियर सोमा सहभागी भएका छन्। बुधबार आयोजित उक्त विशेष प्रदर्शनीमा लामिछानेको उपस्थिति चर्चाको विषय बनेको छ। सहकारी ठगीको आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका लामिछाने सार्वजनिक कार्यक्रममा देखिँदा सञ्चारमाध्यम र दर्शकको ध्यान त्यता मोडिएको थियो।
यसअघि चलचित्रका निर्माता रामकृष्ण ढकाल एक अभिव्यक्तिलाई लिएर निकै विवादमा परेका थिए। उनले जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका सभापति लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएका थिए। गायक ढकालको उक्त दाबीपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनको तीव्र आलोचना हुनुका साथै उनी विवादको घेरामा तानिएका थिए।
त्यही विवाद कायमै रहेका बेला लामिछाने आफैँ चलचित्रको प्रिमियरमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एकातिर लामिछाने कानुनी झमेला र राजनीतिक खिचातानीमा छन् भने अर्कोतिर ढकाल आफ्नै अभिव्यक्तिका कारण दबाबमा थिए। यस्तो पृष्ठभूमिमा लामिछानेको उपस्थिति सञ्चारकर्मीहरूका लागि पनि मुख्य आकर्षणको केन्द्र बन्यो।
पछिल्लो समय चर्चा र विवादमा रहेको यो चलचित्र आगामी २५ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। प्रिमियरमा देखिएको राजनीतिक र कलाकारिताको यो संयोगले चलचित्रको प्रचारप्रसारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रदर्शनपछि नै थाहा हुनेछ। सामाजिक तथा साङ्गीतिक पृष्ठभूमिमा बनेको यस चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ, त्यो भने प्रतीक्षाकै विषय छ।









Discussion about this post