विशेष अनलाइन । सामाजिक सेवा, युवा नेतृत्व र अन्तर्राष्ट्रिय सक्रियतामा निरन्तर योगदान दिँदै आएका नेपालका लियो पारस खतिवडा “लियो अफ दि इयर” घोषित भएका छन्। विश्वव्यापी लायन्स क्लब अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने यो प्रतिष्ठित सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लियोको उपस्थितिलाई थप सशक्त बनाएको छ।
सयौँ मुलुकका हजारौँ लियोहरूमध्येबाट छनोट हुँदै, लियो जिल्ला परिषद् ३२५ सि का कार्यक्रम सह–प्रमुख खतिवडा उत्कृष्ट लियोको रूपमा चयन भएका हुन्। लियो क्लब अफ इटहरी इनोभेसनका पूर्व अध्यक्ष समेत रहेका पारस हाल बहु जिल्ला खेलकुद संयोजकका रूपमा कार्यरत छन्। लामो समयदेखि उनी नेतृत्व विकास, सामाजिक अभियान, खेलकुद प्रवर्द्धन र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय छन्।
खतिवडाले बङ्गलादेशमा सम्पन्न इसामे फोरम २०२३–२४ र भारतको हैदराबादमा आयोजित इसामे फोरम २०२४–२५ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको पहिचान स्थापित गरेका थिए।
लियो जिल्ला परिषद् अध्यक्ष शिव शंकर मण्डलका अनुसार, पारसको योजनाबद्ध दृष्टिकोण, सहकार्यमा विश्वास, कार्यक्रम व्यवस्थापनमा दक्षता र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान विस्तारमा पुर्याएको योगदानका आधारमा उनलाई सम्मानित गरिएको हो।
खतिवडाको यस सफलताले सम्पूर्ण नेपाली लियो समुदायलाई गर्वको अनुभूति गराएको छ। लियो पदाधिकारी, सदस्य तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले उनलाई बधाई दिँदै यो उपलब्धिलाई सम्पूर्ण नेपाली युवाको सफलता बताएका छन्।
“यो केवल व्यक्तिगत सम्मान होइन, सम्पूर्ण नेपाली युवाको क्षमताको प्रमाण हो। अवसर खोज्ने होइन, सिर्जना गर्ने हो,” खतिवडाले सम्मान ग्रहणपछि प्रतिक्रिया दिएका थिए।
लियो पारस खतिवडाको योगदान र सफलताले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय र प्रभावशाली भूमिकाका लागि अझ प्रेरित गर्ने विश्वास गरिएको छ।
Discussion about this post