विशेष अनलाइन । नेपाली मौलिक चलचित्र ‘नाम्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा अर्को खुसीको खबर ल्याएको छ। नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा प्रस्तुत नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा उक्त चलचित्र आधिकारिक रूपमा छनोट (Official Selection) भएको छ।
स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजित विशेष कार्यक्रममा जुन १७, २०२५ मा चलचित्र ‘नाम्लो’ लाई “फिल्ममा अमूल्य योगदान, सक्रिय संलग्नता र असाधारण प्रतिभा प्रदर्शन गरेको” कदर गर्दै विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको हो।
समारोहमा सम्मानपत्रमा महोत्सवका सह-संयोजक विजयमान दोङगोल, फेस्टिभल निर्देशक अरुण कुमार प्रधान, प्रमुख निर्णायक दीपेन्द्र लामा, तथा फिल्म निर्देशक समाज नेपालका अध्यक्ष जनकदीप पराजुलीको संयुक्त हस्ताक्षर थियो, जसले यस उपलब्धिको गरिमा अझ बढाएको छ।
यो उपलब्धिले ‘नाम्लो’ चलचित्रको सम्पूर्ण टिमको अथक मिहिनेत, सिर्जनशीलता र समर्पणको प्रमाण प्रस्तुत गरेको छ। नेपाली समाज, संस्कृति र परम्परालाई जीवन्त रूपमा उजागर गर्ने कथावस्तुसहित प्रस्तुत ‘नम्लो’ ले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
यस छनोटसँगै, ‘नाम्लो’ चलचित्र आगामी जुलाई १९, २०२५ मा स्कटल्यान्डमा हुने नेपाल इन्डिजिनस फिल्म फेस्टिभलको प्रमुख प्रदर्शनको रूपमा समेत प्रस्तुत गरिनेछ।
चलचित्रको अन्तर्राष्ट्रिय प्रेक्षालयमा भएको यो सम्मानले नेपाली चलचित्र उद्योगको प्रतिष्ठालाई विश्वसामु उँचो बनाउने मात्र नभई, नेपाली मौलिक कथावस्तु, संस्कृति र प्रतिभाको उज्यालो पहिचान दिलाउने विश्वास लिइएको छ।
चलचित्र ‘नाम्लो’को टिमलाई यस सफलताका लागि हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना!
Discussion about this post