विशेष अनलाइन । नेपाली चलचित्र उद्योगकै सफल मानिने दीपक-दीपा समूहले आफ्नो नयाँ प्रोजेक्ट ‘छ माया छपक्कै २’ को औपचारिक निर्माण सुरु गरेको छ। सोमबार बिहान भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको काम अघि बढाइएको हो। चलचित्रको छायांकन आगामी तीन दिनपछि नुवाकोटको रमणीय स्थानहरूबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ।
दीपेन्द्र लामाको निर्देशन रहने यस चलचित्रमा अघिल्लो भागकै मुख्य जोडी दीपकराज गिरी र केकी अधिकारी दोहोरिने पक्का भएको छ। उनीहरूसँगै उदाउँदो अभिनेत्री सनिशा भट्टराई पनि मुख्य भूमिकामा जोडिएकी छन्। यद्यपि, अघिल्लो भागका लोकप्रिय पात्रहरू केदार घिमिरे र जितु नेपाल यसपटक देखिनेछन् वा छैनन् भन्नेबारे निर्माण पक्षले अहिलेसम्म मुख खोलेको छैन।
यसपटक दीपक-दीपाको ‘आमा सरस्वती मूभिज’ सँगै ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले लगानीमा सहकार्य गरेका छन्। दीपक-दीपा समूह यस फिल्ममा पनि नाफाको हिस्सेदारी (प्रफिट शेयरिङ) को सम्झौतासहित जोडिएको बुझिएको छ।
यो चलचित्र सन् २०१९ मा सुपरहिट भएको ‘छ माया छपक्कै’ को सिक्वेल हो। दीपाश्री निरौलाका अनुसार फिल्मको कथावस्तु पहिलो भाग जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुनेछ। नुवाकोट, पोखरा र काठमाडौंका विभिन्न लोकेसनमा खिचिने यो फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।










Discussion about this post