विशेष अनलाइन । नेपाली चलचित्र जगतमा सामाजिक र यथार्थपरक कथावस्तुमा आधारित चलचित्र ‘गुरु आमा’ को चर्चा चुलिएको छ। यो चलचित्रले विशेष गरी विद्यालय शिक्षामा रहेको पुरातनवादी सोच र आधुनिक शिक्षा प्रणाली बीचको द्वन्द्वलाई मुख्य विषय बनाएको छ। एक आदर्श शिक्षिकाले विद्यार्थीको भविष्य सुधार्नका लागि विद्यालय प्रशासन र समाजका गलत प्रवृत्ति विरुद्ध कसरी लडाइँ लड्छिन् भन्ने मार्मिक पक्षलाई चलचित्रमा उतारिएको छ।
चलचित्रको कथा एउटा यस्तो विद्यालयको वरिपरि घुम्छ जहाँ अनुशासनका नाममा विद्यार्थीमाथि भौतिक हिंसा गर्ने गरिन्छ। तर, मुख्य पात्र (गुरु आमा) ले त्यसको विरुद्धमा उभिएर ‘लट्ठी’ भन्दा ‘प्रेम र बुझाइ’ को भाषा प्रभावकारी हुन्छ भन्ने मान्यता स्थापित गर्न खोज्छिन्। यसै क्रममा उनले आफ्नै सहकर्मी र व्यवस्थापन पक्षको असहयोग र दबाबको सामना गर्नुपर्ने हुन्छ। यो लडाइँ केवल विद्यालयभित्रको सुधारका लागि मात्र नभई एउटा सिंगो पुस्ताको भविष्य बचाउने अभियानको रूपमा देखाइएको छ।
सामाजिक पाटोलाई हेर्दा, चलचित्रले लागूऔषधको दुर्व्यसनीमा फसेका युवाहरू र उनीहरूलाई सुधार गृहको सट्टा विद्यालय र समाजले कसरी तिरस्कार गर्छ भन्ने गम्भीर मुद्दालाई पनि उठाएको छ। ती विद्यार्थीहरूलाई सही बाटोमा ल्याउन एउटा शिक्षकले कतिसम्म जोखिम मोल्न सक्छ भन्ने कुरालाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। यसका साथै, वैदेशिक रोजगारीको आकर्षण र त्यसले पारिवारिक सम्बन्धमा ल्याउने दरारको कथालाई पनि यसमा बुनिएको छ।
चलचित्रले एउटा शिक्षकको व्यक्तिगत त्याग र सामाजिक उत्तरदायित्वलाई निकै गहिराइमा पुगेर चित्रण गरेको छ। कलाकारहरूको स्वाभाविक अभिनय र समसामयिक विषयवस्तुले गर्दा यो चलचित्र विशेष गरी विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरूका लागि झनै सान्दर्भिक देखिन्छ।
वैशाख २५ गते देखि देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुरु आमा’ केवल मनोरञ्जनको साधन मात्र नभएर नेपाली शिक्षा क्षेत्रको ऐनाको रूपमा अगाडि आएको छ। एउटी महिलाले समाजका विभिन्न घेराबन्दीलाई तोडेर कसरी परिवर्तनको संवाहक बन्न सक्छिन् भन्ने सन्देश दिन खोजेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रेम सोनी सुनारको निर्देशनमा तयार भएको यस चलचित्रमा मिथिला शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, टिका सानु, उत्तम केसी, सुषमा थापा, राधिका हमाल, बालचन्द्र बराल, गिरी प्रसाद पुन, उषा कार्की, केपी बाग्दास, टंक मरासिनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्णव घिमिरे, सफल पौडेल, विश्वास नेपाल र कमला परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नवराज खड्का, शेर बहादुर तामाङ र मिराज अर्यालको छायांकन रहेको यस चलचित्रमा बिबी अनुरागीको संगीत र श्यामश्वेत रसाइलीको साउन्ड मिक्सिङ रहेको छ। चलचित्रलाई मित्र देव गुरुङले सम्पादन गरेका हुन् भने साहिल खानले टिजर र ट्रेलर तयार पारेका छन्। मिलन विक्रम शाहको कलरिङ, मिराज अर्यालको पब्लिसिटी डिजाइन तथा भीएफएक्स, र डीके हमालको निर्माण व्यवस्थापन रहेको यो चलचित्र रीमा फिल्म्स र नेपाली ह्याण्डको पोष्ट प्रोडक्सनमा तयार भएको हो। मनोज खड्का र विवेक खड्काले डबिङमा साथ दिएका छन्।









Discussion about this post