विशेष अनलाइन । नयाँ नेपाली चलचित्र ‘ककाकिकी’ ले बिहीबार बिहान पर्वतको भूकदेउरालीमा शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकन सुरु गरेको छ। करिब ३५ दिने समयावधि तय गरिएको चलचित्रको पहिलो चरण पर्वतमा २० दिन र बाँकी हिस्सा काठमाडौंमा खिचिने निर्माण टिमले जनाएको छ।
चलचित्रको निर्देशन चर्चित कमेडियन बिक्की अग्रवाल ले गर्न लागेका हुन्। उनलाई निर्देशकको भूमिकामा श्रद्धा प्रसाईंले साथ दिनेछिन्। चलचित्रमा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा र गौरी मल्लजस्ता ख्यातिप्राप्त कलाकारको अभिनय रहनेछ।
कथालेखनमा बिक्की अग्रवालसँगै विकास अर्याल र सरोज भण्डारी संलग्न छन् भने स्क्रिनप्ले आफैं बिक्कीले लेखेका हुन्। विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरका रूपमा रहेका छन्। सह–निर्देशकको जिम्मा अनिश बुढाथोकीले सम्हालेका छन् भने डीओपी सुदिप बराल रहेका छन्।
यसअघि साउनको दोस्रो सातामा चलचित्रको पोस्टर सार्वजनिक गर्दै ‘ककाकिकी’ को घोषणा गरिएको थियो। उक्त पोस्टरमा रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र महेश त्रिपाठीलाई फरक र अनौठो अवतारमा देखाइएको थियो, जसले चलचित्रको कथा रहस्यमय हुने संकेत गरेको थियो। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।










Discussion about this post