विशेष अनलाइन। नेपाली चलचित्र जगतमा निकै चर्चामा रहेको ‘महाराजधिराज’ को मुख्य भूमिकालाई लिएर रहेको अन्योल अब अन्त्य भएको छ। यसअघि अभिनेता पल शाहको मुख्य अभिनय रहने भनिएको यस चलचित्रबाट उनी बाहिरिएपछि निर्माण पक्षले नयाँ शीर्ष कलाकारको खोजी गरिरहेको थियो। अन्ततः मंगलबार सार्वजनिक गरिएको नयाँ पोस्टरमार्फत अभिनेता पुष्प खड्का ‘महाराजधिराज’ को भूमिकामा देखिने पक्का भएको छ।
सार्वजनिक गरिएको टिजर पोस्टरमा पुष्पलाई दुईवटा पूर्णतः विपरीत र शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ। एकातिर उनी श्रीपेच, राजदण्ड र राजर्षी पहिरनमा ‘रोयल लुक्स’ मा सजिएका छन् भने अर्कोतिर नग्न, दुब्लो र शारीरिक रूपमा अत्यन्तै कमजोर अवस्थामा देखिएका छन्। यी दुई फरक रूपले चलचित्रको कथावस्तु निकै गहिरो र चुनौतीपूर्ण हुने संकेत गर्दछ।
यस चलचित्रका लागि अभिनेता पुष्प खड्काले देखाएको समर्पणको अहिले सर्वत्र चर्चा भइरहेको छ। उनले चलचित्र सम्झौता गर्दा आफ्नै औँला काटेर रगतको औँठा छाप लगाएको बताइएको छ। साथै, यो भूमिकाका लागि उनले चलचित्रको छायांकन नसकिएसम्म कुनै पनि अन्य चलचित्र, म्युजिक भिडियो, वा सामाजिक सञ्जालका सामग्रीहरूमा समेत नदेखिने कडा घोषणा गरेका छन्।
निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुने यस चलचित्रमा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत र उषा रजकजस्ता दिग्गज कलाकारहरूको प्रभावशाली उपस्थिति रहनेछ। चलचित्रको छायांकन आगामी वैशाख दोस्रो सातादेखि सुनसरीको श्रीलंका टापुबाट सुरु भई काठमाडौँ, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा गरिनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई थ्रिलर वा पिरियड ड्रामाको श्रेणीमा राखिएको छ। रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको यस चलचित्रमा नवराज थापाको छायांकन रहनेछ। प्रस्तुतिकर्ता विराज विष्टले अभिनयमा पोख्त कलाकारहरूको छनोट नै चलचित्रको बलियो पक्ष भएको बताएका छन्।









Discussion about this post