विशेष अनलाइन । अनमोल केसी अभिनीत चलचित्र ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीको लबिम मलमा विशेष समारोह आयोजना गरी शुक्रबार ट्रेलर रिलिज गरिएको हो। कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङसहित फिल्मका निर्माताहरूको उपस्थिति थियो।
३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरमा सगरमाथा आरोहणसँगै प्रेम, भावनात्मक उतारचढाव र जोखिमपूर्ण यात्राको कथा प्रस्तुत गरिएको छ। हिमाल, मुस्ताङ र काठमाडौंका लोकेसनमा खिचिएका दृश्यहरूले चलचित्रलाई भिजुअल्ली शक्तिशाली देखाएका छन्।
चलचित्रमा अनमोलले आफ्ना पिता भुवनलाई जित्ने उद्देश्यसहित हिमाल चढ्ने सपना देखेका छन्। परिवारप्रतिको भावनात्मक टकराव, प्रेममा आउने धोका, जीवन–मृत्युको संघर्ष र साहसिक आरोहण ट्रेलरको मुख्य पाटो बनेका छन्।
चलचित्रको कथा तथा पटकथा हेमराज बीसीले लेखेका हुन् । सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले संयुक्त रूपमा निर्माण गरेका हुन्। निर्देशक सुयोग गुरुङले यसअघि ‘फर्की फर्की’ मा देखाएको दृश्यात्मक शैलीलाई अझ प्राविधिक रूपमा परिष्कृत गर्दै ‘जेरी : अन टप’ मा प्रस्तुत गरेका छन्।
रोम्यान्टिक ड्रामा श्रेणीमा तयार भएको चलचित्र असोज ३१ (अक्टोबर १७) मा, तिहारको पूर्वसन्ध्यामा देशभर रिलिज हुने तयारीमा छ।









Discussion about this post