विशेष अनलाइन। चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले आफ्नो व्यावसायिक यात्रामा एउटा महत्वपूर्ण इँटा थपेको छ। बुधबार इटहरीमा आयोजित एक विशेष समारोहका बीच शाखाको नयाँ कार्यालयको औपचारिक समुद्घाटन गरिएको हो।
इटहरीको पश्चिम लाइनस्थित ट्राफिक प्रहरी कार्यालयको ठीक अगाडि स्थापना गरिएको यस कार्यालयलाई सुनसरीका चलचित्र पत्रकारहरूको नयाँ केन्द्रका रूपमा हेरिएको छ। कार्यालयको उद्घाटन नेपाली चलचित्र ‘मालती मंगले’ को जम्बो टिमले संयुक्त रूपमा गरेको हो। कार्यक्रममा चर्चित कलाकारहरू विजय बराल, वर्षा राउत, गायक तथा निर्माता रामकृष्ण ढकाल, मेक्सम गौडेल र गायिका सलिना बिकको उपस्थिति रहेको थियो। उनीहरूले संयुक्त रूपमा संघको आधिकारिक बोर्ड र ब्यानर अनावरण गर्दै कार्यालयको विधिवत सुरुवात गरेका थिए, जसले कार्यक्रममा थप रौनक थपेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई ‘नङ र मासु’ को संज्ञा दिँदै एकअर्काको अस्तित्व परिपूरक रहेको बताए । त्यस्तै, कलाकार विजय बरालले यो कार्यालय आगामी दिनमा चलचित्रकर्मीहरूका लागि भेटघाट गर्ने एउटा साझा ‘जक्सन’ का रूपमा विकास हुने विश्वास व्यक्त गरे । नायिका वर्षा राउतले पनि पूर्व आउँदा अब छुट्टै अपनत्व महसुस हुने भन्दै पत्रकारहरूलाई यस कार्यका लागि बधाई दिएकि छिन्।
मोफसलमा रहेर पनि पत्रकारहरूबीच देखिएको यस्तो एकताको केन्द्र र प्रदेशस्तरका नेताहरूले समेत प्रशंसा गरेका छन्। संघका पूर्व उपाध्यक्ष जीवन पराजुलीले सुनसरी शाखाको यो सक्रियता अन्य शाखाहरूका लागि गतिलो उदाहरण भएको उल्लेख गरे । त्यस्तै, केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले कोशी प्रदेशका अन्य शाखाहरूको तुलनामा सुनसरीले आफ्नै कार्यालय स्थापना गरेर गर्विलो इतिहास रचेको धारणा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठले नेतृत्व सम्हालेलगत्तै आफ्नो प्रमुख प्राथमिकतामा रहेको कार्यालय स्थापनाको लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गरे । उनले यो कार्यालय केवल एउटा प्रशासनिक थलो मात्र नभई सुनसरीलाई चलचित्र गतिविधिहरूको महत्वपूर्ण केन्द्र बनाउने अभियानको प्रस्थानविन्दु भएको बताए । श्रेष्ठले सुनसरीको चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउन सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत राखेका छन् ।









Discussion about this post