विशेष अनलाइन । नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर चलचित्र ‘कार्की साइँला’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी १ साउन २०८३ बाट यो चलचित्र देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।
सार्वजनिक गरिएको पोस्टरमा अभिनेता जितु नेपाललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। उनलाई एक भरियाको अवतारमा देखाइएको छ, जसले डोकोमा दुःखको प्रतीकात्मक पहाड बोकेर हिँडिरहेका छन्। यो अर्थपूर्ण पोस्टरले चलचित्रको कथावस्तु विशेषगरी एक भरियाको जीवन, उसको संघर्ष र भोगाइहरूका वरपर घुमेको सङ्केत गरेको छ। पोस्टरले चलचित्रप्रति दर्शकको कौतुहलतालाई थप बढावा दिएको देखिन्छ।
चलचित्रमा जितु नेपालको जोडीको रूपमा अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ देखिनेछिन्। यसअघि बाहिरिएका केही दृश्य र तस्वीरहरूका आधारमा चलचित्रमा जितु र प्रियनालाई दम्पतीको भूमिकामा देख्न सकिने अनुमान गरिएको छ। जितुको गम्भीर भूमिका र प्रियनासँगको सहकार्यले चलचित्रमा केही नयाँपन दिने विश्वास निर्माण पक्षले लिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको ‘कार्की साइँला’ को छायांकन पूर्वी नेपालका विभिन्न रमणीय तथा ग्रामीण स्थानहरूमा गरिएको छ। चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।
कर्णबहादुर चलचित्र प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने बालकुमार राईले यसलाई निर्माण गरेका हुन्। चलचित्रले मौलिक सामाजिक कथालाई पर्दामा उतार्न खोजिएको छ।










Discussion about this post