विशेष अनलाइन । नेपाली चलचित्र सोल्टिनी ले आफ्नो पहिलो गीत ‘नौलाखे तारा’ सार्वजनिक गरेको छ। गीतले दर्शकलाई केवल शब्द र धुनमार्फत मात्र नभई, प्रेमका अवरोध र समाजले खडा गर्ने विभाजनबारे सोच्न पनि बाध्य पार्ने प्रयास गरेको छ।
गीतमा गायक प्रशान्त सिवाकोटी स्वयंले शब्द र संगीत दिएका छन् । उहाँकै स्वरलाई झुमा लिम्बु र सुनिता थेगिमले साथ दिएका छन्। संगीत संयोजन देवेश राईको रहेको छ। सरल तर गहिरो भाव बोकेको लिरिकल भिडिओमा, चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको नजिकियतासँगै पारिवारिक तथा सामाजिक अवरोधको चित्रण गरिएको छ।
निर्देशक अर्जुन सुवेदीले तयार पारेको यो चलचित्र कार्तिक ६ गते, भाइटिकाको अवसरमा देशव्यापी प्रदर्शनमा आउने तय भएको छ। प्रकाश र परीक्षा सँगै विल्सन विक्रम राई, प्रेम सुब्बा, रविन्द्र झा, प्रकाश घिमिरे, कविता आले लगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको निर्माणमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माता बनेका छन् भने रेजिना विष्ट र संसार चौलागाईंले चलचित्र निर्माण जिम्मेवारी लिएका छन्।
चलचित्रले समाजमा गहिरो रुपमा गढिएको जातीय विभेद र अमानवीयताविरुद्ध आवाज उठाउने उद्देश्य बोकेको छ। यसले प्रेमलाई केवल भावनात्मक सम्बन्ध होइन, सामाजिक संघर्षको एउटा शक्तिशाली प्रतीकका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।









Discussion about this post