विशेष अनलाइन । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित सिनेमा ‘कोशेढुंगा’ ले पब्लिसिटीलाई नयाँ मोड दिएको छ। निर्माण टिमले प्रमोशनलाई भावनात्मक र कलात्मक ढंगले प्रस्तुत गर्न कवितासहितको लिरिकल भिडियो सार्वजनिक गरेको हो, जसको वाचन सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्त ले गरेकी छन्।
कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पको भाव मिसिएको छ। दृश्यात्मक रूपमा सिनेमाका केही फुटेज र स्टिल फोटो प्रयोग गरिएका छन्, जसले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँधिएको जीवन, विश्वास र प्रतीक्षाको भावनालाई चित्रण गर्छ। निर्देशक सरोज पौडेल का अनुसार, यो कवितामार्फत कथाको केही संकेत गरिएको भए पनि सम्पूर्ण कथा भने किस्ताकिस्तामा मात्रै खुल्नेछ।
यसै क्रममा, निर्माण पक्षले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ।
पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्।
दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन्।
तेस्रो पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन्, जहाँ सुरक्षाले भारी बोकेकी छिन् र मन्जिल गहिरो नजरले कसैलाई हेरिरहेका छन्। सबै पोस्टरमा कलाकारहरू चरित्रको लुक्समै प्रस्तुत छन्।
यसअघि निर्माण टिमले प्रेमिल गीत ‘भंगेरा भगेरी’ र त्यसअघिको हिट गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिसकेको छ, जसले विशेषगरी टिकटकमा लोकप्रियता कमाएको छ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलद्वारा निर्देशित ‘कोशेढुंगा’ नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्नेछ। यो उपलब्धि नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा राखिएको छ।
नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको यस सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका यस फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठको, सम्पादन नहकुल खड्काको, र संगीत आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको रहेको छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।
अन्तर्राष्ट्रिय वितरणको जिम्मा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनल ले लिएको छ।









Discussion about this post