विशेष अनलाइन । कर्णालीका दु:ख, बेवास्ता र जीवन संघर्षको कथामा चलचित्र ‘रेलको बाटो’ बन्ने भएको छ । चर्चित गीत ‘रेलको बाटो’ बाट प्रभावित हुँदै सोही नाममा चलचित्र निर्माणको घोषणा गरिएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्न लागेको यो फिल्मलाई निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।
निर्माण टिमले औपचारिक रूपमा चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै प्रोजेक्टको प्रारम्भिक जानकारी दिएको छ। सार्वजनिक पोस्टरमा ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ — ले राज्यको उपेक्षा र ग्रामीण जनताको पीडामाथि गहिरो भावनात्मक र राजनीतिक सन्देश प्रवाह गरेको छ।
निर्देशक सुनारका अनुसार, ‘रेलको बाटो’ चलचित्रले नागरिक जीवनका संघर्षहरू, पारिवारिक सम्बन्ध (विशेष गरी श्रीमान्–श्रीमतीबीचको सम्बन्ध), र राजनीतिक विकृति–विसंगतिलाई कथा बनाउनेछ। साथै, कर्णाली क्षेत्रमा व्याप्त पूर्वाधारको अभाव, स्वास्थ्य सेवामा पहुँचको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप र केन्द्रले देखाउने उपेक्षा पनि कथाको केन्द्रमा हुने बताइएको छ।
चलचित्रको छायांकन निर्देशक निशाल पौडेलले गर्ने छन् । चलचित्रमा संगीत सुरज पण्डितको रहनेछ। कार्यकारी निर्माता नगेन्द्र घिमिरे छन् र चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ। हाल प्रि–प्रोडक्सन चरणमा रहेको चलचित्रको छायांकन कर्णालीका विभिन्न जिल्लामा यसै वर्षको अन्त्यतिर सुरु गरिनेछ। चलचित्र २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।









Discussion about this post