विशेष अनलाइन । चर्चित हास्य कलाकार तथा टेलिभिजन सिरिज भद्रगोल का निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले फिल्म निर्देशनमा पाइला टेकेका छन्। उनी निर्देशनमा डेब्यू गर्दै चलचित्र झरीपछिको इन्द्रेणी को छायांकन बिहीबारदेखि काठमाडौंको बागबजार क्षेत्रबाट सुरु भएको हो।
चलचित्रको मुहूर्तपूजा ललितपुरको ऐतिहासिक धन्तेरी बाराही मन्दिरमा विधिपूर्वक सम्पन्न भएको छ। पूजामा निर्देशकसहित फिल्म टिमको उपस्थिति रहेको थियो। छायांकन कार्य ४५ दिनसम्म काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा हुनेछ।
चलचित्रका गीतहरू पनि विशेष हुने संकेत मिलेको छ। चलचित्रमा काठमाडौं महानगर प्रमुख बालेन शाह र नेवाः गायक रोजमाज महर्जनको स्वर रहने जनाइएको छ । मुहूर्त कार्यक्रममा बालेनकी पत्नी सविना काफ्ले पनि सहभागी भइ चलचित्रको सफलताको शुभकामना दिएकी थिइन्।
‘पाँडे’ को रुपमा चिनिने अर्जुन घिमिरे यसअघि लाज शरणम् जस्तो सफल चलचित्र निर्माण गरेका थिए। साथै उनी सक्किगो नि टेलिसिरिजका प्रमुख कलाकारसमेत हुन्। त्यसै सक्किगो नि टेलिसिरिजकि कलाकार प्रियाना आचार्य ‘मुन्नी’ले पनि यस चलचित्र मार्फत पर्दामा पुनरागमन गर्न लागेकी छन्।
चलचित्रको मुख्य भूमिका अभिनेता गणेश उप्रेतीले निर्वाह गर्दैछन्। चलचित्र होमवर्क पछि ९ वर्ष लामो अन्तरालपछि उनी फेरि ठूलो पर्दामा फर्किएका हुन्। लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका उप्रेती खासगरी यसै फिल्मको लागि नेपाल आएका हुन्।
अन्य कलाकारहरूको रुपमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका अनुभवी कलाकारहरूले अभिनय गर्दैछन्। चलचित्र पारिवारिक कथामा आधारित रहेको बताइएको छ।
कथाको लेखन कुमार व्यञ्जनकारले गरेका छन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेको रहेको छ। चलचित्र पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ, जसका निर्माता सुशील कडरिया हुन्।









Discussion about this post