विशेष अनलाइन। ‘खुस्मा’ले सफलताको स्वाद चाखेका निर्देशक अशोक थापा मगरले आफ्नो नयाँ चलचित्र ‘जलाकी’को छायांकन सुरु गरेका छन्। बाग्लुङको कालिका भगवती मन्दिरबाट सुरुआत गरिएको यो चलचित्रको मोसन पोस्टर शुक्रबार सार्वजनिक गरिएको हो। केही दिनअघि मात्र पोखराको विन्ध्यवासिनी मन्दिरमा यसको शुभ मुहूर्त गरिएको थियो।
निर्देशक थापाका अनुसार यो त्रिकोणात्मक प्रेमकथामा आधारित छ र छायांकन तीन चरणमा हुनेछ। चलचित्रमा अभिनेता सोनम तोप्देन र अभिनेत्री उपासना सिंह ठकुरीको पहिलोपटक जोडी बाँधिएको छ। ‘सम्हालिन्छ कहिले मन’ र ‘शाम्बाला’ जस्ता चलचित्रबाट परिचित गायक तथा अभिनेता सोनमका लागि यो तेस्रो चलचित्र हो।
चलचित्र ‘जलाकी’बाट आकृति राजभण्डारीले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन्। साथमा अस्तित्व भट्टचन, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरुको अभिनय रहनेछ।चलचित्रको छायांकन बाग्लुङ, रुकुम, म्याग्दी, पोखरा र दक्षिण कोरियामा गरिनेछ।
एम मिडियाको ब्यानरमा निर्माण हुँदै गरेको ‘जलाकी’का निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। शैलेन्द्र डि. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, र सुरेन्द्र राना र राम अविरल विष्टका गीतले चलचित्रलाई संगीतले भरिपूर्ण बनाउनेछ।
‘जलाकी’को अर्थ हो – “झलक”। यो चलचित्रमा मगर र गुरुङ समुदायको संस्कृति, रहनसहन र आस्थालाई उजागर गरिनेछ। निर्देशक थापाले लेखन र निर्देशन दुवै सम्हालेका छन्।
Discussion about this post