विशेष अनलाइन । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र “वसन्त” आज (शुक्रबार)देखि देशभरका सिनेमा हलहरूमा एकैसाथ प्रदर्शनमा आएको छ। हल सञ्चालकहरूबाट सकारात्मक साथ पाएको चलचित्र “वसन्त”ले राम्रो सुरुवात गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ।
सपुतले निर्देशनसँगै अभिनय गरेको यो चलचित्रले सामाजिक र पारिवारिक कथावस्तुलाई समेटेको बताइएको छ। हलहरूले दिएको शो संख्याले पनि दर्शकको अपेक्षा उच्च रहेको संकेत गर्छ।
यता, केही साता अघिदेखि प्रदर्शनमा आएको चलचित्र “अन्जिला”ले भने अझै दमदार कमाइ गरिरहेकै छ। राष्ट्रिय महिला फुटबल गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको बायोपिकका रुपमा बनेको चलचित्र “अन्जिला” सोयं एन्जिलाको बलियो अभिनय र लोभलाग्दो प्रस्तुतिले दर्शक तानिरहेको छ । साथमा दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, तथा निर्माता समेत रहेका प्रेम कुमार श्रेष्ठको दमदार अभिनय रहेको “अन्जिला”ले दर्शकको मन जित्न सफल देखिन्छ।
यसैबीच, बलिउड स्टार सलमान खान अभिनित “सिकन्दर” नेपाली हलहरूमा एकसाथ प्रदर्शनमा आइरहेकै छ। बलिउडप्रेमी दर्शक तान्ने उद्देश्यले उक्त चलचित्र पनि प्रतिस्पर्धामा रहेको छ। तर, चलचित्रले अपेक्षित व्यापार गर्न नसक्ने देखिन्छ ।
यसबाहेक, “लाज शरणम” “होस्टेल ४” जस्ता चलचित्रहरू पनि कतिपय हलहरूमा प्रदर्शन भइरहेका छन् । तर मुख्य भिडन्त भने प्रकाश सपूतको “वसन्त” र मिलन चाम्स निर्देशित “अन्जिला” बीच हुने देखिन्छ।
चलचित्र बजारमा प्रकाश सपूतको यो पहिलो निर्देशन भएकाले पनि यो उनको ‘परीक्षा’को बेला हो भनेर चर्चा चलिरहेको छ। गायन र अभिनयमा सफलता कमाएका सपूतले निर्देशनमा कति जम्न सक्छन् भन्ने चासो अब दर्शकको मतले छुट्याउनेछ।
अब हेर्न बाँकी छ — दर्शकको “वसन्त” प्रतिको अभिव्यक्ति कस्तो आउनेछ
Discussion about this post