विशेष अनलाइन । सिमोस सुनुवार निर्देशित चलचित्र ‘जन्ते बाख्रो’ आगामी ९ जेठमा प्रदर्शन हुने भएको छ। बिहीबार आयोजित कार्यक्रममा चलचित्रको पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
गीतमा सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् भने आसिफ शाहलाई सरप्राइज रूपमा प्रस्तुत गरिएको छ। गीतमा बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको छ।
चलचित्रका निर्माता सन्तोष गौतमले अभिनेता सौगात मल्ल अभिनीत अर्को चलचित्र ‘भाइरल गोर्खे’ प्रदर्शन हुने मिति नजिक भएकाले ‘जन्ते बाख्रो’को मिति समायोजन गरिएको बताए। साथै, यो चलचित्र नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा एकसाथ प्रदर्शन गर्ने योजना रहेको जानकारी दिए।
निर्देशक सुनुवारले अघिल्ला चलचित्रहरूबाट सिकेर यसपटक सुधार गरिएको बताए। मुख्य अभिनेत्री गरिमा शर्माले पहिलो पटक मुख्य भूमिकामा देखिन लागेकोले मञ्चमा उभिँदा उत्साहित र केही डर लागेको अनुभव सुनाइन्।
चलचित्रमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्धाजले पटकथा तथा संवाद लेखेका छन् भने सन्तोष गौतम लगानीकर्ता हुन ।
Discussion about this post