विशेष अनलाइन । नेपाली चलचित्र ‘नाम्लो’ को गीत ‘सलल बग्ने सभा खोला’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा नन्दु गुरुङ, सुनिता थेगिम र पूर्ण लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेमकृष्ण बजगाईं, पूर्ण लिम्बु र नन्दु गुरुङको शब्द रहेको गीतमा संगीत नन्दु गुरुङ र प्रेमकृष्ण बजगाईंले भरेका छन्।
गीतको भिडियो आकर्षक ढंगले तयार पारिएको छ, जसमा पूर्ण लिम्बु, शान्ति पाख्रिन, मदन बहादुर राई, सुवास तामाङ, स्मृति गुरुङ, विमला राई, होमनारायण सापकोटा, प्रेम सञ्जय लिम्बु, रमेश कटवाल, रोमन श्रेष्ठलगायतका कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन हेमन तामाङले गरेका छन् भने छायांकन सुमन तामाङको रहेको छ। सम्पादन तथा कलर ग्रेडिङ हेमन तामाङले नै गरेका हुन्।
यसैबीच, चलचित्र ‘नाम्लो’ विशेष प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ। आगामी वैशाख १२ गते धरानको फ्रेन्ड्स सिनेमामा चलचित्रको विशेष प्रदर्शन गरिने छ। चलचित्रका प्रस्तुतकर्ता पूर्ण लिम्बू रहेका छन्।
‘नाम्लो’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक उद्देश्य बोकेको चलचित्र हो। चलचित्रबाट उठेको रकम नेपालकै विकट क्षेत्रको विकासका लागि खर्च गरिने भएको छ, जसले सामाजिक सेवामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
चलचित्रका निर्माता मदन बहादुर राई र लाखमान योञ्जन तामाङ (लाख बहादुर तामाङ) हुन् भने कथा तथा पटकथा पनि लाखमान योञ्जन तामाङले तयार पारेका छन्। चलचित्रको पोष्ट-प्रोडक्सन कोशी भिजन फिल्म्स प्रा.लि., इटहरी, सुनसरीमा गरिएको हो।
सार्वजनिक गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्र ‘नाम्लो’ ले पनि दर्शकमाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Discussion about this post