विशेष अनलाइन । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको महत्वाकाङ्क्षी चलचित्र ‘जूबा’ को औपचारिक छायाङ्कन बुधबारदेखि सर्लाहीबाट प्रारम्भ भएको छ। एक विशेष समारोहका बीच शुभमुहूर्त गर्दै निर्माण टोलीले चलचित्रलाई फ्लोरमा लगेको हो। यो चलचित्रलाई प्राविधिक र दृश्यका हिसाबले निकै भव्य बनाउने योजनाका साथ निर्माण पक्षले काम अगाडि बढाएको छ।
छाङ्कन तालिका अनुसार, पहिलो एक साता सर्लाहीका विभिन्न स्थानमा चलचित्र खिचिनेछ। त्यसपश्चात् निर्माण युनिट काठमाडौं फर्किएर थप तयारी गर्दै भारतको राजस्थानतर्फ प्रस्थान गर्नेछ। राजस्थानका रमणीय र ऐतिहासिक स्थानहरूमा चलचित्रका महत्वपूर्ण दृश्यहरू कैद गर्नका लागि ७५ दिनको लामो छायाङ्कन सेड्युल तय गरिएको छ, जसले चलचित्रको वृहत् क्यानभासलाई प्रस्ट पार्छ।
चलचित्रको सार्वजनिक पोस्टरले दर्शकमाझ सुरुमै कौतुहलता पैदा गरिसकेको छ। पोस्टरमा अभिनेता सौगात मल्लको लुक्सले करिब दुई दशक पुरानो समयको झझल्को दिन्छ। उनलाई पिसिओ (PCO) बुथमा फोन गरिरहेको र क्यामेरालाई नमस्ते गरिरहेको अवतारमा देख्न सकिन्छ। सोही पोस्टरमा अभिनेत्री सोफी धरेल रिसाएको भावमा देखिएकी छिन्, जसले यसै चलचित्रमार्फत नेपाली रजतपटमा आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्।
यस चलचित्रमा सुधन पोखरेल मुख्य खलपात्रको रूपमा प्रस्तुत हुँदैछन्। तेस्रो पोस्टरमा उनको डरलाग्दो अवतार र चुरोट तानिरहेको दृश्यले चलचित्रमा उनको भूमिका चुनौतीपूर्ण रहने सङ्केत गर्छ। प्रकाश कर्णको लेखन तथा निर्देशनमा तयार भइरहेको यो चलचित्रमा वर्षा पौडेलले पटकथा लेखनमा सहकार्य गरेकी छिन्। निर्देशक कर्ण र लेखिका पौडेल दुवै जना चलचित्रको ‘क्रिएटिभ प्रोड्युसर’ को रूपमा समेत जोडिएका छन्।
रक क्यासल स्टुडियोको ब्यानरमा निर्माण भइरहेको ‘जूबा’ को मुख्य कथावस्तु र अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले हाललाई गोप्यता कायम राखेको छ। २० वर्ष पुरानो पृष्ठभूमि, राजस्थानको लोकेसन र पिसिओको सेटिङले चलचित्रको कथा निकै रोचक हुनसक्ने अनुमान गरिएको छ।









Discussion about this post