विशेष अनलाइन । अत्यधिक सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेको सेभेन सिज सिनेमाको नयाँ प्रस्तुति ‘रोल नं १’ को निर्माण टोली यतिबेला पूर्वका विभिन्न सहरहरूको भ्रमणमा निस्कने भएको छ । “हरेक विद्यार्थीको कथा” भन्ने नाराका साथ तयार पारिएको यस चलचित्रको टोलीले आगामी वैशाख २१ गतेदेखि २५ गतेसम्म पूर्वका विभिन्न स्थानहरूमा पुगेर विद्यार्थी र दर्शकसँग साक्षात्कार गर्नेछ ।
यस भ्रमणमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, रेणु योगी, गायक तथा संगीतकार प्रशान्त शिवाकोटी र ‘कमेडी नाइट विथ च्याम्पियन’का चर्चित कमेडियनहरूको उपस्थिति रहने फाइनल भएको छ । टोलीले “हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंको मनका कुरा” भन्ने अभियान अन्तर्गत विद्यालयहरूमा पुगेर विद्यार्थीका भावना र भोगाइ सुन्नेछन् ।
टोलीले वैशाख २१ र २२ गते बिर्तामोड, सुरुङ्गा र दमक तथा २२ र २३ गते पथरी, लक्ष्मीमार्ग र बेलबारीमा बिताउनेछ । त्यसैगरी वैशाख २३ र २४ गते लालभित्ती, विराटचोक र दुलारीका विद्यालयहरूमा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । विद्यालयका कक्षाकोठा मात्र नभई टोलीले सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएको छ ।
यसै क्रममा वैशाख २४ गते बेलुका इटहरीको संगीत चोकमा एक विशेष प्रोमोसनल साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रममा मुकुन भुषाल र रेणु योगीसँगै प्रशान्त शिवाकोटीको सुमधुर गायन र चर्चित कमेडियनहरूको हास्य प्रस्तुति रहनेछ ।
जेठ १५ गते (मे २९) देखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रको प्रचार टोली वैशाख २५ गते धरान र विराटनगर पुगेर आफ्नो पूर्वी यात्रा समापन गरी अन्य सहरतर्फ लाग्नेछ। चलचित्रको टिम वैशाख २७ गते नेपालगञ्ज, २८ गते दाङ, २९ गते बुटवल र ३१ गते चितवन हुँदै जेठ १ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।










Discussion about this post