विशेष अनलाइन । महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको पहिलो तीन दिनमै उत्कृष्ट व्यापार गरेको छ। बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्रले तीन दिनमा दुई करोड ७ लाख भन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी गराएको छ।
निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्। पहिलो दिनबाटै उल्लेखनीय दर्शक उपस्थितिसहित प्रदर्शन भइरहेको चलचित्रले शनिबारसम्म निकै उत्साहजनक व्यापार गर्न सफल भएको छ। वितरक करण श्रेष्ठका अनुसार बिहानका शोहरूमा दर्शकको उपस्थिति केही कम भए पनि दिउँसो र साँझका शोहरू अधिकांश हाउसफुल भएका छन्।
चलचित्रको कथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन सङ्घर्ष र सफलतामा केन्द्रित छ। विशेष कुरा त के छ भने, मुख्य भूमिकामा एन्जिला आफैं प्रस्तुत भएकी छिन्। चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको भावनात्मक यात्रा देखाइएको छ, जसले खेलाडीको संघर्ष मात्र नभई नेपाली महिलाहरूले खेल क्षेत्रमा सामना गर्नुपरेका चुनौतीहरू पनि उजागर गर्छ।
चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रदर्शनपछि चलचित्रको टिम दर्शकमाझ पुगेर उनीहरूको प्रतिक्रिया संकलन गरिरहेको छ, जसले चलचित्रको प्रचारमा थप प्रभाव पारेको छ।
चलचित्रको हालसम्मको प्रदर्शनलाई हेर्दा आउँदा दिनहरूमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। दर्शकको राम्रो प्रतिक्रिया र हलहरूमा देखिएको भीडले ‘अञ्जिला’ नेपाली खेलकुदमा आधारित चलचित्रहरूमध्ये एक सफल चलचित्र बन्न सक्ने सम्भावना बलियो बनाएको छ।
Discussion about this post