विशेष अनलाइन । नेपाली चलचित्र ‘अञ्जिला’ ले बिहीबारदेखि हलहरूमा प्रदर्शनमा रहँदा दर्शकहरू माझ ठूलो उत्साह बटुल्न सफल भएको छ। आइतबार चौथो दिनमा पनि यसको बम्पर व्यापारले लोकप्रियता प्रमाणित गरेको छ। वितरक करण श्रेष्ठका अनुसार, पहिलो दिन नै धेरै दर्शक आएपछि थप शो राखिएको हो र देशभरका मल्टिप्लेक्स र एकल सिनेमा हलहरुमा हाउसफुल प्रदर्शन भएको छ।
चलचित्रको “रात किन हुन्छ हजुर, रात किन हुन्छ ” बोलको गितले सामाजिक सञ्जालमा विशेष चर्चा पाएको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेकोको गितमा शब्द प्रभा बर्तौलाले लेखेका हुन् भने, सङ्गीत थानेश्वरले नै दिएका हुन्। टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा दर्शकहरूले यस गीतलाई मन पराउँदै भिडियोहरू शेयर गरेका छन्।
चलचित्रको कथा, निर्देशन, अभिनय र गीत-संगीतलाई लिएर स्वतन्त्र समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्देशक मिलन चाम्सले दर्शकहरूको माया र थप शो राखिएपछि आफ्नो मेहनत सफल भएको महसुस गरेको बताएका छन्।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित भएकोले, चलचित्रले उनको बाल्यकालदेखि खेल क्षेत्रमा आएका संघर्ष र सफलताको कथा सरल भाषामा प्रस्तुत गरेको छ।
चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ छिन्। साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। मुन लभ इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्। टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। चलचित्रमा विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।
Discussion about this post