विशेष अनलाइन । धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङले चलचित्र क्षेत्रको प्रोत्साहनका लागि सकारात्मक रहेको बताएका छन् । चलचित्र पत्रकार संघ सुनसरीले धरानमा आयोजना गरेको ‘महाजात्रासँग सिनेमा संवाद’कार्यक्रममा बोल्दै नगरप्रमुख साम्पाङले धरानमा चलचित्र छायांकन गर्न योग्य स्थानहरूको पहिचान गरी तत्काल डायरी तयार गरी सार्वजनिक गरिने बताए । कलाकारहरूले राखेको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख साम्पाङले उपमहानगरले आउँदो वर्ष विनियोजन गर्ने बजेट देखि चलचित्र क्षेत्रका लागि समेत बजेट विनियोजन गरिने बताए ।
धरानमा छायांकन हुने चलचित्रहरूलाई प्रोत्साहन स्वरूप आफूले गर्न सक्ने सहयोगका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको नगरप्रमुख साम्पाङको भनाई थियो । ‘मैले पहिला पनि भनिसकेको छु धरानमा छायांकन हुने चलचित्रहरूलाई हामीले दिन सक्ने सेवा सुविधा दिन हामी तयार छौँ । तर, त्यसका लागि उपमहानगरपालिकाको कार्यालय सम्म आएर जानकारी दिनुहोस्’ उनले भने । ‘छायांकन गरेको थाहा पत्तो नदिने अनी सहयोग भएन भनेर गुनासो गरेर सहयोग प्राप्त हुन सक्दैन’ नगरप्रमुख साम्पाङले भने ।
आफू बोलिराख्ने तर नहुने र असम्भव कुरा नबोल्ने र बोलेको कुराबाट कहिल्यै पछि नहट्ने नगर प्रमुख साम्पाङको भनाई थियो । ‘म बोलिरहन्छु । तर गर्न नसक्ने असम्भव कुरा बोल्दिन र बोलेको कुराबाट कुनै हालतमा पछि हट्दिन’ नगरप्रमुख साम्पाङले भने ।
नगरप्रमुख साम्पाङले नेपाली समाजले अझै पनि भौतिक विकासलाई मात्र विकास देख्ने गरेको उल्लेख गरे । भौतिक विकास मात्र विकास नभएर विकासको दायरा निकै फराकिलो रहेको चेतना दिन सधैँ प्रयासरत रहेको बताए ।
आफू हरिवंश आचार्यको फ्यान रहेको उल्लेख गर्दै नगरप्रमुख साम्पाङले आचार्यसँगै चलचित्रका विषयमा संवाद गर्न पाउँदा खुसी लागेको बताए । ‘महाजात्रासँग सिनेमा संवाद’कार्यक्रममा नगर प्रमुख साम्पाङसँग वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वो, अनाम रंगमञ्च धरानका अध्यक्ष विजय सुब्बा, चलचित्र महाजात्राका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्रसिंह बानिया, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, वर्षा राउत लगायतले संवाद गरेका थिए ।
Discussion about this post