विशेष अनलाइन । चर्चित गायिका तथा गीतकार रचना दाहालले आफ्नो नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्ने भएकी छन्। शनिबार एक्सओ क्लबमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै गीतको प्रिमियर गर्न लागिएको हो। यो नयाँ सिर्जना उनको ‘जन्मदाग’ एल्बमअन्तर्गत रहेको हो। यसअघि सोही एल्बमको ‘तिमी भए’ बोलको भिडियो रिलिज भएको तीन महिनापछि दाहालले अर्को गीत दर्शकसमक्ष ल्याउन लागेकी हुन्।
कार्यक्रममा भिडियो प्रिमियरपछि ‘जन्मदाग’ एल्बमका सम्पूर्ण गीतहरूको लाइभ प्रस्तुति हुनेछ। यसमा दाहालसँगै उनको ब्याण्डका सदस्यहरू रोशन शर्मा (गिटार), रोशन पुत्वर (बाँसुरी), किरण शाही (ड्रम) र सनिष महर्जन (बास गिटार) प्रस्तुत हुनेछन्। साउन्ड इन्जिनियर युकेश परियार र इमानविक्रम शाह, लाइटिङ इन्जिनियर सक्षम चित्रकार र स्क्रिन टेक्निसियन किरण थापा कार्यक्रमको प्राविधिक पक्ष सम्हाल्नेछन्।
‘हे भगवान’ र ‘तिमी भए’सँगै ‘जन्मदाग’मा ‘असम्भव’, ‘अलगाव’, ‘दागबत्ती’ र ‘आज्ञा’जस्ता गीतहरू पनि समावेश छन्। दाहाल आफ्नो गहिरो गीत–लेखन शैलीका लागि परिचित छिन्, जसमा उनले विषाक्त सम्बन्ध, मानसिक स्वास्थ्य र भावनात्मक प्रभावजस्ता संवेदनशील विषयलाई कलात्मक ढंगले प्रस्तुत गर्दै आएकी छन्।









Discussion about this post