विशेष अनलाइन । भक्तपुरकी गायिका सिम्पल खरेलले आफ्नो भजन ‘राधा रानी लागे’ मार्फत नेपाली संगीतको डिजिटल इतिहासमा नयाँ अध्याय थपेकी छिन्। युट्युबमा २२ करोड ८० लाखभन्दा बढी पटक हेरिएको यो गीत अहिले नेपाली कलाकारको सबैभन्दा धेरै हेरिएको गीत बन्न पुगेको छ।
भजन भए पनि गीतको प्रस्तुति र संगीत संयोजनले युवापुस्तालाई समेत आकर्षित गरेको देखिन्छ। परम्परागत लोक तत्वलाई आधुनिक संगीतमा पस्केर उनले एक अनौठो स्वाद निर्माण गरेकी छिन्। हिन्दी भाषामा भए पनि गीत नेपाल र भारत दुबै देशका दर्शकबीच लोकप्रिय बन्न पुगेको छ।
२५ वर्षकै उमेरमा सिम्पल खरेल नेपाली भजन गायनको चर्चित नाम बन्न पुगेकी छिन्। उनले गाएका ‘ओ नमः शिवाय’, ‘गोविन्द बोलो हरि गोपाल बोलो’, ‘श्रीकृष्ण गोविन्द हरे मुरारे’ जस्ता भजनहरू युट्युबमा लाखौं दर्शकद्वारा हेरिएका छन्। भजनमा गहिरो रुचि भएको बताउने सिम्पल भन्छिन्, “जे कुरामा मलाई मन लाग्छ, त्यही गाउन मन लाग्छ। यसले मलाई आत्मसन्तुष्टि दिन्छ।”
संगीतसँगै सिम्पल डिजिटल कन्टेन्ट क्रिएसनमा पनि सक्रिय छन्। टिकटक, युट्युब र इन्स्टाग्राममा उनी सौन्दर्य, मेकअप र पहिरनसँग सम्बन्धित भिडियोहरू प्रस्तुत गर्छिन्। संगीत र कन्टेन्ट क्रिएसनको यो समिश्रणले उनलाई नेपाली डिजिटल प्लाटफर्ममा छुट्टै पहिचान दिएको छ।
सिम्पलको लोकप्रियता नेपालमै सीमित छैन। भारतमा पनि उनका भजनहरू व्यापक रूपमा रुचाइएका छन्। “इण्डियाबाट मैले जुन माया पाएकी छु, त्यो मैले कल्पना गरेको थिइनँ,” उनी भन्छिन्, “नेपाली दर्शकले जस्तो साथ दिनुभएको छ, त्यस्तै साथ भारतीय दर्शकबाट पनि पाएकी छु।”
यद्यपि युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली भाषाको गीतको कीर्तिमान भने अझै फिल्म ‘दुई रुपियाँ’ को ‘कुटुमा कुटु’ सँग कायम छ। तर गैर-फिल्मी र भजन विधामा सिम्पलले पुर्याएको उचाइले नेपाली संगीतमा सम्भावनाको नयाँ ढोका खोलिदिएको छ।









Discussion about this post