विशेष अनलाइन । नेपाली चलचित्र इतिहासमै सबैभन्दा सफल चलचित्र फ्रेन्चाइजी ‘कबड्डी’ को पाँचौं श्रृंखलाको छायांकन चाँडै सुरु हुने भएको छ। निर्माता तथा निर्देशक रामबाबु गुरुङका अनुसार चलचित्रको छायांकन दशैंको टीकापछि सुरु गरिनेछ।
गुरुङका अनुसार दयाहाङ राई र मिरुना मगर लगायत शीर्ष कलाकारले आफ्नो भूमिकालाई निरन्तरता दिनेछन् भने अन्य केही कलाकारमा हेरफेर हुनसक्ने सम्भावना छ। “शीर्ष पात्रहरू दोहोरिने छन्, तर केही नयाँ अनुहार पनि देख्न पाइनेछ,” गुरुङले जानकारी दिए।
‘कबड्डी’ का लोकप्रिय कलाकार विजय बरालले दशैंको टीकाको भोलिपल्टबाटै छायांकन थालिने बताए। “मुस्ताङतिर जाने तयारी भइरहेको छ,” उनले भने, “तिहार सकिएसम्म हामी त्यहीँ ब्यस्त हुनेछौं।”
चलचित्रको स्क्रिप्ट अहिले निर्माणाधीन अवस्थामा छ, जसलाई निर्देशक गुरुङ आफैंले लेखिरहेका छन्। कबड्डी का अघिल्ला चार संस्करणहरूले बक्स अफिसमा अपार सफलता पाएका थिए, जसले नेपाली चलचित्रको दर्शकवृत्त विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको छ ।
बाँसरी फिल्म्सले निर्माण गरेको अर्को बहुप्रतीक्षित चलचित्र ‘जारी’ को दोस्रो श्रृंखला पनि प्रदर्शनको तयारीमा छ। संविधान दिवस (असोज ३ गते) लाई लक्षित गर्दै यो चलचित्र रिलिज गरिने योजना सार्वजनिक भएको छ।









Discussion about this post