विशेष अनलाइन । नेपाली फिल्म ‘दैव संजोग’बाट दर्शकको मन जितेको चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ अब नयाँ रूप र रंगमा प्रस्तुत गरिएको छ। यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो सदाबहार गीत रिक्रियट गरिएको हो। फिल्मको प्रचार–प्रसारलाई तीव्रता दिन आज काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको छ।
ओरिजिनल संस्करणमा शम्भुजित बास्कोटा र देवीका बन्दनाको स्वर रहेको यो गीतको नयाँ संस्करणमा पनि शम्भुजितकै स्वर कायम राखिएको छ, जसमा गायिका रचना रिमालको ताजगीयुक्त आवाज थपिएको छ। गीतमा शब्द र संगीत शम्भुजित बास्कोटाकै रहेको छ, जसले यस गीतको मौलिक भावलाई जीवित राख्न सफल देखिन्छ।
गीतको भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन छ, जसलाई सिनेम्याटोग्राफर राजु विक्रम थापाले क्यामेरामा कैद गरेका छन्। भिडियोलाई साहिल खानले सम्पादन गरेका छन्। भिडियोमा देखिने रौनकको अर्को आकर्षण भनेको यसमा देखिएको मुख्य कलाकारहरूको धमाकेदार उपस्थिति हो। राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी तथा बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाले गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्।
फिल्म ‘नरसिंहाः अवतार’लाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने चन्द्र पन्तको कथा रहेको यस फिल्ममा एक्सन पनि दमदार हुने विश्वास गरिएको छ। फिल्मको निर्माण टिम पनि निकै बलियो देखिन्छ—नेम महर्जनको प्रमुख लगानीमा निर्माण भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको समेत सह-लगानी रहेको छ।
फिल्ममा नीर शाहदेखि लिएर प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन जस्ता अनुभवी तथा नयाँ कलाकारहरूको मिश्रण देख्न पाइनेछ। एक्सन निर्देशन राजु तामाङले गरेका छन् भने भीएफएक्समा समीर मियाको योगदान रहेको छ।
अभिनेता राजेश हमालको आठ वर्षपछिको पर्दामा पुनरागमन रहेको यस फिल्मप्रति दर्शकको उत्सुकता स्वाभाविक रूपमा बढेको छ। सार्वजनिक गरिएको गीतले फिल्मको चर्चा अझ उचाइमा पुर्याउने निश्चित देखिन्छ।
Discussion about this post