विशेष अनलाइन । जेष्ठ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर आइतबार सार्वजनिक भएको छ। सहारा शर्माको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलरले एउटा संयुक्त परिवारभित्र लुकेको कलह र सपनाको कथालाई बडो मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ। २ मिनेट लामो यो भिडियोले दर्शकलाई चलचित्रप्रति निकै उत्सुक बनाइदिएको छ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको यो प्रस्तुतिमा बनेको चलचित्रको ट्रेलरमा अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राखिएको छ। विवाहको तयारी भइरहेको घरमा बेहुली बन्न लागेकी आँचलको अनुहारमा खुसी छैन। परिवारका सदस्यबीचको मनमुटाव, फरक पुस्ताको सोचाइमा हुने टकराब र व्यक्तिगत रहरहरूको मारलाई ट्रेलरमा प्रस्ट देख्न सकिन्छ।
चलचित्रमाआँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।
‘एक मुठ्ठी बादल’ लाई प्राविधिक रूपमा निकै बलियो बनाउन विदेशी टोलीले काम गरेको छ। भियतनामकी छायाँकार लिन्ह डान गुयेन फानले खिचेको दृश्यलाई भारतकी चर्चित सम्पादक दीपा भाटियाले सम्पादन गरेकी हुन्। त्यस्तै, थाइल्यान्डको ह्वाइट लाइटले यसको कलर ग्रेडिङ गरेको छ। चलचित्रको निर्माणमा जर्मनीका निर्माताहरू समेत जोडिएका छन्, जसले गर्दा यसको ‘लुक’ अन्तर्राष्ट्रिय स्तरको देखिएको छ।










Discussion about this post