बिशेष अनलाइन । संगीत बजारका लोकप्रिय गायक प्रमोद खरेलको आज जन्मदिन परेको छ । दिपावलीको मुख्य दिन भाइटिका कै दिन गायक खरेलको जन्मदिन परेको छ । नेपाली आधुनिक गित संगितका चम्किलो ताराको रुपमा पनि गायक खरेलको चर्चा हुने गरेको छ । उनले गाएका गितसंगीतका कारण त उनी चर्चित छदै छन् । त्यसमाथी पछिल्लो समय निकै लोकप्रिय बन्न सफल रियालिटी शो द भ्वइस आफ नेपालको कोच भएका कारण पनि उनको लोकप्रियता अझै बढेको छ । द भ्वइस आफ नेपालमा उनले गर्ने टिप्पणीका साथै उनी प्रस्तुत हुने शैलीका कारण उनि धेरै नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् । द भ्वइस अफ नेपालमा उनी सबै भन्दा सफल कोच मानिन्छन् । किनभने उनको टिमले २ पटक उपाधि जित्न सफल भएको छ । हाल उनी भ्वइस अफ किड्सको तयारीमा छन् । बालबालिकाहरुको सांगीतिक रियालिटी शो द भ्वइस अफ किड्समा पनि प्रमोद कोचको भुमिकामा रहने छन् ।
सिजन एकमा उनकै टिमबाट आउट भएर टिम दिपमा गएका सिडी बिजय अभिकारीले द भ्वइस अफ नेपालको पहिलो उपाधी जितेका थिए भने दोश्रो सिजन टिम दिपबाट आउट भएर प्रमोदको टिममा स्टिल भएका राम लिम्बुले उपाधी सुरक्षित गरेका थिए । तेश्रो सिजनमा पनि टिम प्रमेदबाट नै किरण गजमेरले उपाधि आफ्नो पोल्टामा पारेका थिए ।
गायक खरेलको जन्म वि.सं २०३७ साल कार्तिक २० गते बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको कोखबाट भएको थियो । खरेलले घरको पहिलो सन्तानको रूपमा जन्म लिएका थिए । उनी सानै देखिनै अध्ययनमा निकै रुचि राख्ने गर्थे । आमा र बुवा दुबै शिक्षक भएका कारण पनि आमा बुवाले उनलाई अध्ययनमै फोकस गराउने गरेका थिए । घरमा उनलाई सबैले ‘प्रमोद बाबु’ भनेर बोलाउने गर्थे । घरमा त्यही नाम भएका कारण स्कुलमा पनि उनको नाम ‘प्रमोद बाबु’नै थियो ।
सबैले उनलाई सोही नामले बोलाउने गर्थे । तर प्रमोदलाई भने आफु केही बुझ्ने भएपछि आफ्नो नामको पछाडी भएको बाबु त्यति राम्रो लाग्दैन थियो । त्यसैले कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई उनले आफ्नो नामको पछाडी रहेको बाबु हटाइदिन आग्रह गरेका थिए । सोही दिनबाट उनी प्रमोद बाबु खरेलबाट प्रमोद खरेल बनेका थिए ।
उनका बुवाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने स्कुल भने घर नजिकै थियो । उनी आमासँगै स्कुल जाने र आउने गर्थे । अध्ययनमा तेजिलो भएका कारण पनि उनलाई सबैले माया गर्ने गर्थे । प्रमोदलाई सानैबाट सांगीतमा निकै रुचि थियो । तर, उनको सपना भने डाक्टर बन्ने थियो । स्कुलमा हुने बिभिन्न अतिरिक्त कृयाकलापमा भाग लिने गर्थे प्रमोद । तर, अचम्मको कुरा के छ भने स्कुलमा आयोजना भएका गायनका कुनै पनि कार्यक्रममा उनले भाग नै लिएनन् ।
उनले गायक बन्ने भनेर त सपनामा पनि सोचेका थिएनन् । कार्यक्रमहरुमा नगाए पनि उनमा भित्रि रुची भने अत्यधिक थियो । बाहिर हुने कार्यक्रमहरुमा गित नगाए पनि घरमा भने चिच्याइ चिच्याइ गित गाउने गर्थे । बिभिन्न गायकले गाएका गितहरु खोजी खोजी सुन्ने गर्दे । गित सुन्दै गर्दा धेरै जसो समय उनको हातमा पुस्तक हुने गथ्र्यो । बिशेष गरी नारायण गोपालका सांगीत धेरै सुन्ने गर्थे प्रमोद । नारायाण गोपालसँगै हिन्दी गायक मोहम्मद रफी, किशोर कुमार, कुमार सानु लगायतको आवाजले प्रमेदलाई मोहित बनाउने गरेको थियो ।
पहिले, अहिले जस्तो धेरै गायक थिएनन् । अहिले जस्तो सजिलो गरी गित सुन्न पाहिदैन थियो । घरमा रेडियो थियो तर, रेडियोमा समय समयमा मात्र गित बज्ने गथ्र्यो । त्यसैले उनले गित सुन्नकै लागी बजारवाट क्यासेटको चक्का किनेर ल्याउने गर्थे। उनको मामाघर आस्साम भएका कारण मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो त्यसैले दुई-तीन वर्ष बिराएर दसैंमा मात्र उनी मामाघर पुग्थे । सानै देखी सिधा भएका कारण उनलाई सबैले मन पराउथे ।
राम्रो कपडा लागाउनाका लागी दशै नै कुर्नुपर्ने बाध्यता थियो । त्यसमा पनि बुवा,आमाले जे ल्याइदिए पनि कुनै गुनासो नगरी लगाउने गर्थे । एकातिर पढाइमा लगाव र नतिजा, अर्कोतिर बुवाआमाको अपेक्षा, दुवै कुराले उनलाई दायाँबायाँ नलागी पढाईमा केन्द्रित गराउने गथ्र्यो । उनलाई बुवाले ८ कक्षा टप गरे साइकल किनिदिने सर्त राखेका थिए ।
साइकलको सोखिन भएका कारण उनले अध्ययनमा अझै मेहेनत गरे र अन्तत ‘आठ कक्षा स्कुल टप गरेर देखाए । सर्त अनुसार ८ कक्षा टप गरेपछि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । अध्ययनलाई निरनतर अगाडी बढाएका प्रमेदले झापाको हिमाली माध्यमिक विद्यालयबाट एसएलसीमा जिल्ला टप गरे ।
उनको जसरी भए पनि डाक्टर बन्ने चाहाना थियो । एसएलसी पास गरेपछि एडभान्स कोर्स गर्नका लागि उनी काठमाडौ गए । उनले घरबाट काठमाण्डौ जान भनेर हिड्दै गर्दा एउटै कुराको संकल्प गरेका थिए भने त्यो थियो डाक्टर बनेर मात्र घर फर्कन्छु । काठमाण्डौ गएर आफ्नो लक्ष्य अनुसार नै एमबीबीएसको एडभान्स कोर्स गरे र परिक्षा पनि दिए तर पहिलो पटक उनि त्यहाँ असफल बन्न पुगे । उनले परिक्षामा नाम निकाल्न सकेनन् । आफ्नो लक्ष्यमा ठेस लागेको महशुस भयो । त्यस पछि भने उनको यात्राले नयाँ मोड लिन पुग्यो । त्यसपछि भने उनी संगीतमा होमिए । बिस्तारै उनको दिनचर्यामा संगीत हावी हुन थाल्यो ।
आफु आफ्नो लक्ष्यमा पुग्न असफल भएको महशुस गर्दै उनि घर फर्किए र सानै देखि भित्र दबिएको आकांक्षालाई पोख्न थाले । गाउँमा आफै कन्सर्ट आयोजना गरेर आफै गाउँन थाले । त्यससँगै आफैं नाटक लेख्ने, निर्देशन गर्ने, खेल्ने गर्न थाले । सानै देखि बालकलाकार बन्ने इच्छा थियो उनको । त्यही इच्छालाई मनमा लिएर बाल कलाकार बन्न पाऊँ भनेर चलचित्र विकास बोर्डको नाममा पत्र लेखेर हुलाकमा दिए । उनले भित्र भित्रै आफु बालकलाकार बन्ने सपना बुनिसकेका थिए ।
उनी,पत्रको जवाफको प्रतिक्षामा थिए । हप्ता दिन बितिसक्दा पनि पत्रको जवाफ आएको थिएन, तर पनि कताकाता आस भने थियो । समय बित्दै गयो । महिना दिन बितिसकेको थियो । उनले अब भने आस मारिसकेका थिए । तर अचानक उनको घरमा पत्र बोकेर हुलाकी आइपुगे । उनि केही पर थिए । पत्र आएको सुनेर वेगले दौडदै घर आए र खुसीले उफ्रिँदै पत्र लिए । पत्रमा के जवाफ होला ? कस्तो प्रतिक्रिया होला ? यस्तै जिज्ञासाले मनमा उथलपुथल बनाएको थियो । तर, जब पत्र देखे त्यसले उनलाई निकै निरास बनायो । किनभने त्यो उनले नै पठाएको पत्र ठेगाना नमिलेका कारण फर्किएको थियो ।
उनी, पुन गायक बन्ने सपना बोकेर घरबाट काठमाण्डौ लागे । काठमाण्डौ गएर त्रिचन्द्र क्याम्पस भर्ना भए साथै डोरेमी संगीत पाठशालामा संगीतको कक्षा पनि लिन थाले । प्रमोद कहिले क्याम्पस जान्थे त कहिले संगीत कक्षा जाने गर्थे । विज्ञान पढ्ने र संगीत सिक्ने काम दुबै गर्न थाले । बिस्तारै उनले पढाइमा स्नातकोत्तर गरे । उता संगीत सिक्ने काम पनि जारी राखेका थिए । संगीत पाठशाला धाउन थालेको एक वर्ष पछि प्रमोदले एउटा एल्वम निकाल्ने सोच बनाए । तर पहिलो एल्वमले उनलाई दर्शकमाझ चिनाउन सकेन । उनले मेहेनतलाई जारी राखे संगीतको कक्षालाई पनि निरन्तरता दिइरहेका थिए ।
साइन्समा स्नातकोत्तर सकिदा यता पाँच बर्षको संगीत कोर्स पनि सकिसकेको थियो । उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । त्यस बखत संगीतकर्मी अग्रजहरु सचिन सिंह, आलोक श्री, रमण घिमिरे, नवराज लम्साल लगायतका व्यक्तिहरुसँग घुलमिल हुँदै गएका थिए । तर, एल्बम निकाल्ने हिम्मत भने गर्न सकेका थिएनन् । एल्बम ननिकालेसम्म गायकको ट्याग पाइदैन थियो । खरेलले बिस्तारै कलेज पढाउन थाले ।
उनको गायन कला कलेजका सहपाठीहरुले पनि सुने । बिस्तारै प्रमेदसँग नजिकिदै गए । एल्वम निकाल्ने आँट गर्न नसकेका प्रमोदलाई अन्तत सहपाठीहरुले नै पाँच सय, हजार, दुई हजार रुपैयाँ संकलन गरेर ‘तँ अगाडि आउनुपर्छ । तैंले गाउनुपर्छ,’ भनेर हौस्याएका थिए । उनले गित रेकर्ड गरेर भिडियो पनि बनाए । तर, दर्शकको नजरमा पर्न सकेनन् । उनले अझै पनि तयारी नपुगेको महशुस गरे, र पुन संगीतको कक्षा लिन थाले । कलेज पाढाउन थालेको हुनाले आर्थिकरुपमा पनि उनलाई सहज हुन थालेको थियो । बिस्तारै उनले आफ्नो गायनमा निखारता आएको महशुस गर्न थाले ।
त्यसपछि भने उनी पुन अर्को एल्वमको तयारीमा लागे । जब उनले दोश्रो एल्वम बजारमा ल्याए त्यसछि भने उनको गायनयात्राले गति लिन थाल्यो । दोश्रो एल्वम सार्वजनिक गरेपछि उनलाई संगीतकार महेश खड्काको संगितमा एउटा चलचित्रको गित गाउने अवसर मिल्यो । उक्त गीत रेकर्ड गरिरहँदा छायांकन पनि भएको थियो । अन्तत गीत रेकर्डिङको दृश्य नै हिट बन्न पुग्यो । दर्शकले बजारमा प्रमोद खरेलको डिमाण्ड गर्न थाले ।
त्यो गीत रिलिज हुन नपाउदै उनले अरु गीतहरु गाउने अवसर पाउन थाले । बिस्तारै पाश्र्व गायनमा उनको बेग्लै चिनारी बन्न थाल्यो । एक पछि अर्को गित गर्दै प्रमोदको व्यस्तता बढ्न थाल्यो । बिभिन्न कन्सर्टहरुमा पनि उनको खोजी हुन थाल्यो । यति सम्म की हाइ रेन्जको गीत, ब्याकग्राउन्ड गीत, स्याड भर्सनको गीतका लागि संगीतकारले प्रमोदलाई नै सम्झन थाले ।
म बिना कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गितले उनलाई देश देखी बिदेशमा लोकप्रिय बनाएको थियो । यो गीत सार्वजनिक भए पछि, यो गितले उनको जीवनको लय नै फेरिदियो । गीत रेकर्डिङ, कन्सर्ट आदिले उनलाई भ्याई-नभ्याई बनायो । हाल प्रमोदले गाएको दर्जनौ गितलाई नेपाली दर्शकले रुचाएका छन् । तर पनि जुनसुकै कार्यक्रममा गाएर गित गाउँदा यो गीतको माग आउने गरेको छ ।
Discussion about this post