बिशेष अनलाइन । पछिल्लो समय नेपालमा रियालिटी शो हरुले राम्रो स्थान लिन सफल भएका छन् । नेपालकै मौलिक कुराहरुलाई समेटेर लोक दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’ले राम्रै चर्चा पाइरहेको छ । नेपाल टेलिभिजनले आयोजना गरेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आउँदो शनिबार हुँदैछ । फिनाले पोखरामा गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
ग्राण्ड फिनालेमा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीम प्रतिस्पर्धामा छ । प्रकाश र मीनाको टीमले सबिन आर्चाय र रिता राउतको टिमलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यता बालचन्द्र र शोभाको टीमले राजेन्द्र पाठक र मीना नेपालको टीमलाई पछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । यी दुई टिममध्यबाट नै एकले ‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने छ भने एउटा टिमले द्धितिय स्थानमा चित्त बुझाउने छ ।
यता तेस्रो स्थानका लागि भने सेमि फाइनलमा आउट भएका सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमले प्रतिस्पर्धा गर्ने छ । यी दुई टीमको छिनोफानो पनि भोटिङका आधारमा नै गरिने आयोजकले बताएको छ । यता बिजेता छनोटका लागि भोटिङ राउण्ड खुला भइसकेको छ । प्लेष्टोरबाट नेपाल टेलिभिजनको एप डाउनलोट गरि भोटिङ गर्न सकिने आयोजकले बताएको छ ।
‘दोहोरी च्याम्पियन’मा प्रथम हुने टीमले उपाधिसँगै २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोश्रो हुने टीमले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुने टीमले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
‘गायक बद्री पंगेनी र गायिका प्रिती आलेले संचालन गरेको ‘दोहोरी च्याम्पियन’मा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, गायिका सीता थापा, गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा निर्णायकको भुमिकामा छन् । कार्यक्रमको सुरुवात मै ‘दोहोरी च्याम्पियन’ले आलोचना समेत भोग्नु परेको थियो ।
Discussion about this post