बिशेष अनलाइन । शिल्पी थिएटर काठमाण्डौका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ धरानमा मञ्चन गरिएको छ । धरान सभगृहको प्रांगणमा मञ्चन गरएको नाटकलाई थिएटर साहारा धरान र नाटक घर निर्माण उपभोक्ता समितिले संयूक्तरुपमा आयोजना गरेका थिए । शिल्पी थिएटरले पुर्वका ३ जिल्लाहरु झापा,मोरङ र सुनसरीका बिभिन्न शहरहरुमा नाटक मञ्चन गरेको थियो । शुक्रबार विराटनगरबाट सुरु भएको अभियान धरानमा मञ्चन गर्दै सम्पन्न गरिएको हो ।
सुनसरी, मोरङ र झापाका २१ स्थानमा नाटक मञ्चन गरिएको शिल्पी थिएटरले जानकारी दिएको छ । विराटनगरबाट सुरु भएको नाटक ‘ठूला माछा–साना माछा’ रंगेली, विराटचोक, दमक, विर्तामोड, काँकडभिट्टा,इनरुवा, इटहरी हुदै धरानमा मञ्चन गरेर सम्पन्न गरिएको हो ।
नाटक मञ्चनको सुरुवातमा बोल्दै स्थानिय आयोजक थिएटर साहारा धरानका अध्यक्ष नविन मेन्याङ्वोले धरानमा पनि नाटक मञ्चन गरिएको र उक्त आयोजनाको जिम्मेवारी थिएटर साहारालाई दिएको भन्दै शिल्पी थिएटरको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नाटकमा राजनीतिक नेतृत्व,सरकारी कर्मचारी तथा ठेकेदारहरुले गरिव जनतालाई दिएको दुःख र उनीहरुले भोग्नु परेको सास्तीलाई सशक्त रुपमा उठान गगरिएको छ । नाटक ‘ठूला माछा–साना माछा’मा एक सम्पन्न परिवारको जिवनशैलि र एक निम्नवर्गिय परिवरको जिवनशैलिबिचको भिन्नतालाई पनि उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । मानिसको मृत्युमा पनि पैसाकै खेल हुने गरेको कुरालाई नाटकले विशेषरुपमा देखाएको छ ।
नाटकले स्थानीय पालिकाहरूमा भएको भ्रष्टाचार, जनप्रतिनिधिहरूको झगडा, सरकारी अस्पतालको अवस्था, ठेक्कापट्टा, निर्माण व्यवसायमा हुने राजनिति, सरकारी कार्यालयहरूको सेवामा भइरहेको घुसखोरी, बिचौलियाको मारमा परेका किसानहरूको यथार्थपरक कथा,नेपालमा एम्वुलेन्स चालकको व्यवहार लगाउतका विषयहरुलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ ।
घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा सविन कट्टेल,पवित्रा खड्का, संगता उराँव,रेनुका कार्की ढोली, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्दओली, ज्याक बराल, हिमाल भुजेल र संजितथुलुङ राईले अभिनयन गरेका छन् ।
बेला बेला दर्शकलाई पेट मिचिमिचि हासाउन सफल भएको नाटकले बिभिन्न समयमा ति नै दर्शकलाई भावुक बनाएको थियो । धरानमा उपस्थित भएर नाटक हेरेका अधिकांश दर्शकले नाटकको खुलेर प्रशंसा गरेका थिए ।
पुर्वका ३ जिल्लाहरुमा मञ्चन भएको नाटक ‘ठूला माछा–साना माछा’लाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजार नगद सहित पुरस्कृत समेत गरिने नाटकका परिकल्पनाकार तथा निर्देशक घिमिरेले जानकारी दिएका छन् ।
वि स २०६३ साल बैशाख ११ गते स्थापना भएको शिल्पी थिएटरले स्थापना काल देखिनै देशको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट नाटकहरु प्रस्तुत गर्दै आएको छ ।
Discussion about this post