विशेष अनलाइन । प्रदर्शनको संघारमा रहेको नेपाली चलचित्र ‘बिगुल’को रिलिज मिति परिवर्तन गरिएको छ । यसअघि यही माघ ९ गते शुक्रबारबाट देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र अब आगामी फागुन १ गतेबाट मात्र प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
निर्माण पक्षले आधिकारिक रूपमा चलचित्र रोकिनुको कारण प्राविधिक समस्या बताएको छ । तर, चलचित्र क्षेत्रका जानकारहरूका अनुसार माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न नसकेपछि निर्माताहरूले जोखिम नलिने निर्णय गरेका हुन् । बजारको माहोल पूर्ण रूपमा सुधार भएपछि मात्र चलचित्र सार्वजनिक गर्ने योजना निर्माण टोलीको छ ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमार्फत मीरा पण्डितले अभिनेत्रीको रूपमा नेपाली रजतपटमा डेब्यु गर्दै छिन् । दिनेश कोइराला निर्माता रहेको यस चलचित्रलाई लिएर निर्माण टोली निकै उत्साहित छ । फागुनको सुरुवातमै चलचित्र प्रदर्शन हुने भएपछि यसले प्रेमिल जोडी र युवा दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
लामो समयको प्रतीक्षापछि प्रदर्शन हुन लागेको ‘बिगुल’ले फागुन १ गते कस्तो व्यापारिक सफलता हात पार्ने हो, त्यो भने हेर्न बाँकी छ । वितरण र प्रचारप्रसारलाई अब नयाँ मितिअनुसार अगाडि बढाइने निर्माण पक्षले जनाएको छ ।









Discussion about this post