विशेष अनलाइन । प्रेम कथानक चलचित्र ‘कुमारी’ ले आफ्नो प्रचार–प्रसारलाई थप व्यापक बनाउन एक नौलो र रोचक शैली अपनाएको छ। निर्माण पक्षले संगीतका पारखीहरूलाई सिधै चलचित्रसँग जोड्ने उद्देश्यका साथ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ को घोषणा गरेको हो। यो अभियानमार्फत देशभरका दर्शकलाई सांगीतिक माहोलमा समेट्दै चलचित्रको चर्चा फैलाउने निर्माण युनिटको मुख्य योजना रहेको छ।
यो सांगीतिक यात्रा आगामी माघ १ गतेबाट सुरु भई माघ २३ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। कन्सर्टका लागि दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरान जस्ता प्रमुख सहरहरू छनोट गरिएका छन्। यस कन्सर्टको मुख्य आकर्षणका रूपमा चलचित्रका पार्श्व गायक केहरसिंह लिम्बु र उनको लोकप्रिय ब्यान्ड ‘केहर एन्ड द लुङा’ रहनेछन्। युवापुस्तामाझ निकै क्रेज रहेको यो ब्यान्डले चलचित्रका गीतहरूसँगै आफ्ना अन्य चर्चित प्रस्तुतिहरू पनि दिनेछ।
निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको यस चलचित्रलाई प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर माघ २३ गते देशभर प्रदर्शन गरिँदैछ। यसअघि नै सार्वजनिक भइसकेका ‘कता छौ…’ र ‘तिमी बिना…’ जस्ता गीतहरूले दर्शकको मन जितिसकेका छन् भने निर्माण टोलीले कन्सर्टकै दौरानमा अर्को एक नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी गरेको छ। यो कन्सर्टले चलचित्रको सांगीतिक पक्षलाई अझ बलियोसँग स्थापित गर्ने विश्वास लिइएको छ।
यस चलचित्रमार्फत नव–कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले नेपाली रजतपटमा पाइला चाल्दैछन्। उनीहरूको साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ। विकास सुवेदीको लेखन रहेको यस चलचित्रमा सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने केदार भुसाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। वितरणतर्फ काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले जिम्मा लिएका छन्।










Discussion about this post