विशेष अनलाइन । सामाजिक तथा राजनीतिक मुद्दालाई उठान गरेको बहुप्रतिक्षित चलचित्र ‘बिगुल’ मा समावेश ‘मरूभूमिमा पानीजस्तै’ बोलको प्रेमिल गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले चलचित्रको गम्भीर कथावस्तुभित्र लुकेको सुन्दर प्रेम सम्बन्धलाई उजागर गरेको छ।
पछिल्लो समयका चर्चित गायक युवराज चौलागाईं र गायिका अनु चौधरीको सुमधुर स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। अर्जुन पोखरेलका गीतहरू अक्सर प्रेमिल र कर्णप्रिय हुने भएकाले यस गीतले पनि श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतको भाव र लयले चलचित्रका मुख्य पात्रहरूबीचको सामीप्यतालाई निकै आकर्षक ढंगले प्रस्तुत गरेको छ।
गीतको म्युजिक भिडियोमा चलचित्रका शीर्ष कलाकारहरू अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमाललाई फिचर गरिएको छ। नरेन र बेनिशाको जोडीलाई भिडियोमा निकै आकर्षक र रोमान्टिक अवतारमा देख्न सकिन्छ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुन्। कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’ मा बेनिशा र नरेनका साथमा नेपाली चलचित्र जगतका स्थापित कलाकारहरू बिनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी र शिशिर वाङ्देल लगायतको सशक्त अभिनय रहेको छ।
चलचित्र आगामी माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तालिका तय गरिएको छ। सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित भए तापनि यो गीतले चलचित्रमा मनोरञ्जन र प्रेमको पाटो पनि बलियो रहेको संकेत गरेको छ।









Discussion about this post