विशेष अनलाइन । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशनमा तयार भएको बहुप्रतिक्षित चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सोमबार सार्वजनिक गरिएको छ। मरिचमान स्वयंले स्वर दिएको ‘गोबर गणेश’ बोलको यो गीतले सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्साह थप जगाएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको यो गीतले चलचित्रको मूल भाव र शैलीलाई प्रष्ट रूपमा प्रस्तुत गरेको छ।
यो गीत केवल मनोरञ्जनात्मक मात्र नभई एउटा गम्भीर सामाजिक मनोविज्ञानमा आधारित छ। गीतमा सबै क्षेत्रमा अब्बल हुँदाहुँदै पनि पढाइमा कमजोर भएकै कारण एक व्यक्तिको आत्मविश्वास कसरी गिर्छ भन्ने कुरालाई रमाइलो र मर्मस्पर्शी शैलीमा चित्रण गरिएको छ। गीतको भिडियो र लयले चलचित्र पूर्णतः कमेडी विधामा बनेको संकेत गर्दछ, जसले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
गम्भीर विष्टको आकर्षक कोरियोग्राफीमा तयार पारिएको यस भिडियोको केन्द्रमा मरिचमान श्रेष्ठ स्वयं देखिएका छन्। भिडियोमा उनलाई अभिनेत्री वर्षा शिवाकोटी, पुजन घिमिरे, पदम तामाङ र निर्मल शर्मा लगायतका कलाकारहरूले नृत्यमा साथ दिएका छन्। कलाकारहरूको अभिनय र हाउभाउले गीतलाई थप जीवन्त र रसिलो बनाएको देखिन्छ, जसले चलचित्रको मुडलाई प्रष्ट्याएको छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा नेपाली पर्दाका स्थापित र लोकप्रिय कलाकारहरूको जम्बो टोली छ। मरिचमान र वर्षाका साथमा बिनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरूङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतकोकलाकारहरुको अभिनय रहेको छ।
प्रचार–प्रसारको क्रममा रहेको यो चलचित्र आगामी माघ १ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तालिका तय गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर रिलिज हुन लागेको ‘गोबर गणेश’ ले पारिवारिक र हास्य विधाका दर्शकलाई हलसम्म तान्ने निर्माण पक्षको विश्वास छ।









Discussion about this post