विशेष अनलाइन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘मिरमिरे’ को शीर्ष गीत ‘मिरमिरे भो’ सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दर्शकमाझ निकै रुचि राखिएको यो गीतमा चर्चित गायक प्रकाश सपुत र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीत सार्वजनिक भएसँगै यसले सामाजिक सञ्जाल र सिने वृत्तमा राम्रो चर्चा बटुल्न सुरु गरिसकेको छ।
यो एक पूर्णतः ‘डान्सिङ नम्बर’ गीत हो, जसमा शब्द र संगीतको सिर्जना स्वयं प्रकाश सपुतले गरेका छन्। गीतले विशेषगरी युवा-युवतीबीचको सामीप्यता, आकर्षण र पहिलो भेटपछिको प्रेमको भावलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ। यसमा प्रयोग गरिएको संगीत र लयले दर्शकलाई नाच्नका लागि ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत र अभिनेत्री सिर्जना निङलेखुको बेजोड नृत्य देख्न सकिन्छ। गीतको दृश्यमा देखाइएको यी तीन पात्रहरू बीचको त्रिकोणात्मक प्रेम सम्बन्धले चलचित्रको मुख्य कथावस्तु प्रति दर्शकको कौतुहलता थप जगाइदिएको छ। सिर्जनाको मनमोहक अभिनय र नृत्यले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएको छ।
यम शेर्पाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ, प्रकाश र सिर्जनाको साथमा माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल जस्ता पोख्त कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा समावेश कलाकारहरूको यो जम्बो टोलीले गर्दा पनि यसलाई लिएर सिने प्रेमीहरूमा विशेष उत्साह देखिएको छ।
रोहित कट्टेल कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले संयुक्त रूपमा निर्माण गरेका हुन्। आरआर फिल्मसको ब्यानरमा वितरण हुन लागेको यस चलचित्रका सह–निर्माताहरूमा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन्।









Discussion about this post