विशेष अनलाइन । बक्स अफिसको अंकगणितले सधैं फिल्मको गुणस्तर मापन गर्दैन भन्ने उदाहरण बनेको छ चलचित्र ‘झरीपछिको इन्द्रेणी’। प्रदर्शनको सुरुवाती दिनमा व्यापारिक लय सुस्त देखिए पनि चलचित्रले बटुलेको ‘वर्ड अफ माउथ’ (दर्शकको प्रशंसा) भने लोभलाग्दो छ।
भ्रष्टाचार विरुद्धको ऐना हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको चलचित्रले हलमा हाँसो मात्र बाँडेको छैन, बरु सरकारी अड्डामा हुने भ्रष्टाचार र एक इमानदार कर्मचारीले भोग्नुपर्ने सकसलाई उतारेको छ। चलचित्र हेरेर निस्कने अधिकांश दर्शकका आँखा रसाएका देखिन्छन्, जसको मुख्य कारण चलचित्रले देखाएको वैदेशिक पलायन र आम नेपालीको संघर्ष हो।
हाइप्रोफाइल पाहुनाको रोजाइमा ‘वडा सचिव’ बिग मुभिजमा आयोजित विशेष शोमा काठमाडौं महानगरका मेयर बालेन शाहदेखि युवा तथा खेलकुद मन्त्री बब्बु गुप्तासम्मको उपस्थिति थियो। मन्त्री गुप्ताले चलचित्र हेरेपछि एउटा यस्तो पात्रको चर्चा गरे, जो आजको समाजलाई खाँचो छ। उनले भने– “मलाई चलचित्रमा गणेश उप्रेतीले निभाएको इमानदार वडा सचिवको भूमिका सबैभन्दा मन पर्यो। हामी सबै त्यस्तै इमानदार बन्नुपर्छ।”
मन्त्री गुप्ताको बुझाइमा यो केवल एउटा फिल्म मात्र नभएर युवा र परिवारका लागि एउटा महत्वपूर्ण ‘नैतिकताको पाठ’ पनि हो। चलचित्रलाई गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे र दीपाश्री निरौला जस्ता अनुभवी कलाकारहरूको अभिनयले ओझिलो बनाएको छ। प्रियना आचार्य (मुन्नी) र विमोचन दवाडीको अभिनयले पनि दर्शकको ध्यान खिचेको छ ।सुरुवाती व्यापार कमजोर भए पनि उत्कृष्ट विषयवस्तु र शक्तिशाली सन्देशका कारण चलचित्रले बिस्तारै पिकअप लिने संकेत देखिएको छ।









Discussion about this post