विशेष अनलाइन । थारू भाषा, संस्कृति र जीवन–यथार्थलाई सिल्भर स्क्रिनमा सशक्त रूपमा उतार्ने उद्देश्यसहित निर्माण हुन लागेको फिचर फिल्म ‘रिसाहा’ का लागि कलाकार छनोट (कास्टिङ कल) सार्वजनिक गरिएको छ।
थारू कला केन्द्रको प्रस्तुतीमा निर्माण हुने यस फिल्मले थारू समुदायको मौलिक कथा, सामाजिक संवेदना र जीवनका संघर्षलाई सिनेमाको माध्यमबाट दर्शकसमक्ष प्रस्तुत गर्ने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ। यही सन्देशलाई जीवन्त बनाउन योग्य र प्रतिबद्ध कलाकारहरूको खोजी थालिएको हो।
फिल्मका लागि २५ देखि ३० वर्ष उमेर समूहकी एक जना महिला मुख्य अभिनेत्री तथा २० देखि २५ वर्ष उमेर समूहका दुई जना महिला सह–अभिनेत्री आवश्यक रहेको जनाइएको छ। अभिनयप्रति रुचि, आत्मविश्वास र पात्रमा डुब्न सक्ने क्षमता भएका इच्छुक कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ।
कास्टिङ अडिसन पौष १२ गते २०८२, दिउँसो १२:०० बजेदेखि ४:०० बजेसम्म, इटहरीस्थित कोशी भिजन फिल्म्सको कार्यालय (गैँसार–पशुपति मन्दिर नजिक) मा आयोजना हुने बताइएको छ।
निर्माण टिमका अनुसार ‘रिसाहा’ केवल एक चलचित्र मात्र नभई थारू समुदायको आवाज, पहिचान र भावनालाई पर्दामा उतार्ने एक गम्भीर सिनेमाई प्रयास हो। त्यसैले नयाँ प्रतिभालाई अवसर दिँदै सशक्त अभिनयमार्फत कथालाई जीवन दिन सक्ने कलाकारहरूको खोजी भइरहेको जनाइएको छ।
अडिसन तथा थप जानकारीका लागि इच्छुक कलाकारहरूले ९८०२७४५४७३, ९८०४०५८५१५, ९८१६९१८९७३ र ९८२७३८०५९१ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
थारू सिनेमाको यात्रामा नयाँ आयाम थप्ने अपेक्षासहित निर्माण हुन लागेको फिल्म ‘रिसाहा’ ले मौलिक कथावस्तु र स्थानीय संस्कृति मार्फत दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।









Discussion about this post