विशेष अनलाइन । छायालय फिल्मसले ‘हिमालयन गोल्ड’ नामक महत्वाकांक्षी नयाँ नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरेको छ। हालै काठमाडौँस्थित कमलादी गणेशस्थानमा शुभ मुहूर्त गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस चलचित्रको निर्माणमा ह्वाइट एलिफन्ट मोशन पिक्चरले सहकार्य गर्नेछ।
चलचित्रको कथावस्तु नेपालको उच्च हिमाली भेग र त्यहाँको सङ्घर्षसँग सम्बन्धित छ। यसले सन् १९९२ को पृष्ठभूमि मा गाउँकी एक युवतीले यार्सागुम्बा सङ्कलन गर्ने क्रममा भोग्नुपर्ने जोखिम, अप्ठ्यारा र निर्दयी लुटेरा समूहसँगको सामनालाई मुख्य रूपमा प्रस्तुत गर्नेछ।
‘हिमालयन गोल्ड’ मार्फत धिराज राजवंशीले लेखन र निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रको छायाङ्कनको जिम्मा वशिष्ठ प्रधानले लिएका छन्। चलचित्रको मुख्य कलाकार समूहमा परीक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायतका कलाकारहरूको अभिनय रहनेछ।
निर्माण पक्षले चलचित्र ‘हिमालयन गोल्ड’ को छायाङ्कन आगामी नोभेम्बर महिनादेखि सुरु गर्ने तयारी गरेको छ। यार्सागुम्बा सङ्कलन र हिमालको जोखिमपूर्ण यात्राको कथालाई पर्दामा उतार्न आवश्यक लोकेसनहरूमा चाँडै नै छायाङ्कन सुरु गरिनेछ।










Discussion about this post