विशेष अनलाइन । नेपाली चलचित्र जगतमा बहुप्रतिक्षित चलचित्र ‘मैझारो’ ले आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरेको छ। लिम्बू र राई समुदायबीचको मौलिक प्रेम कथालाई पर्दामा उतार्ने यो फिल्मको गीतले पूर्वी नेपालको सांस्कृतिक सुगन्ध बोकेको छ।
चलचित्रको यस गीतमा मुख्य कलाकार दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगर ले साकेला नृत्य मा आफ्नो दमदार प्रस्तुति दिएका छन्। यो गीतले नेपालको पूर्वी भेगमा बसोबास गर्ने राई समुदायले पर्वको रूपमा मनाउने, धान रोप्ने र बाली भित्र्याउने समयमा गरिने किराँतहरूको मौलिक साकेला नित्य लाई केन्द्रमा राखेको छ। चलचित्रको कथावस्तुसँग मेल खाने गरी तयार पारिएको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउन थालेको छ।
‘साकेला नाचौ’ गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राई को जादुमय स्वर सुन्न सकिन्छ। पदम साधना कुलुङको शब्द रचना र तोरेम्पाहाङ राई को संगीत रहेको यो गीत निकै कर्णप्रिय बनेको छ।
हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशन रहेको यो चलचित्रलाई ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण गरिएको हो। धिरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राईका साथमा बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ लगायतका सशक्त कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा तोरेम्पाहाङ राईसँगै अनमोल गुरुङ को पनि संगीत रहेको छ भने राजेशपायल राई र मेलिना राईका साथमा झुमा लिम्बू र अस्मिता अधिकारी लगायतको पनि गायन सुन्न पाइनेछ। सौरभ लामा ले छायाङ्कन गरेको यो चलचित्रको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। बहुप्रतिक्षित नेपाली मौलिक प्रेम कथामा आधारित चलचित्र ‘मैझारो’ कात्तिक ७ गते बाट देशैभरिका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ।









Discussion about this post