विशेष अनलाइन । नेपाली चलचित्र बजारमा फेरि एकपटक दयाहाङ राई र विजय बरालको बहुप्रतिक्षित जोडीले धमाका मच्चाउने तयारी गरेको छ। ‘कबड्डी’ सिरिजदेखि पछिल्लो ‘जारी’ सम्मको सफल सहकार्यपछि अब यी दुई लोकप्रिय कलाकार ‘वरिष्ठ बलराम’ मार्फत ठूलो पर्दामा फर्कँदैछन्।
सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रले आफ्नो प्रचार सामग्रीले दर्शकमा तीव्र उत्सुकता जगाएको छ। सार्वजनिक पोस्टर, टिजर र मोसन पोस्टरहरूमा दयाहाङ र विजयलाई समान रूपमा प्रस्तुत गरिएकाले चलचित्रको मुख्य पात्र र कथाको केन्द्र को हुनेछ भन्ने प्रश्नले कौतुहलता बढाएको छ।
टिजरमा उनीहरूबीचको रोचक नोकझोक ले कथा यी दुई पात्रको सम्बन्ध वरिपरि घुम्ने संकेत दिएको छ। यसैबीच, सार्वजनिक ‘न्याउली बनैमा’ गीतले रहस्यलाई अझै गाढा बनाएको छ। गीतमा विजय बराल अभिनेत्री समृद्धि अर्याल सँग रोमान्टिक मुडमा देखिए पनि दयाहाङको उपस्थिति छैन, जसले मुख्य भूमिका को हो भन्नेबारे अनुमान लगाउन दर्शकलाई बाध्य बनाएको छ।
एकतिर नेपाली चलचित्र उद्योगका स्थापित स्टारडम बोकेका दयाहाङ छन् भने अर्कातिर पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’ बाट उदाएका विजय बरालको बढ्दो लोकप्रियता छ। यी दुई कलाकारको पर्दामा देखिने ‘स्क्रिन केमिस्ट्री’ फिल्मको सबैभन्दा ठूलो आकर्षण बन्ने निश्चित छ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको यस फिल्मको कथा र सम्पादन निर्देशक सुरेन्द्र पौडेल कै हो भने पटकथा महेश दवाडी ले लेखेका हुन्।
चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय रहेको छ। मनकृष्ण महर्जनको छायांकन र प्रशान्त शिवाकोटीको संगीत रहेको ‘वरिष्ठ बलराम’ ले दर्शकको लामो प्रतीक्षालाई अन्त्य गर्दै कात्तिक ६ गते (भाइटीकाको दिन) देशभर प्रदर्शनमा आउनेछ।









Discussion about this post