विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो आगामी चलचित्रको प्रदर्शन मिति घोषणा गरेका छन्। यस वर्षको दशैंमा आफ्नो कुनै पनि चलचित्र रिलिज गर्न नसके पनि उनले आउँदो २०८३ सालको दशैंलाई आफ्नो नयाँ चलचित्रको लागि ‘बुकिङ’ गरेका छन्।
‘छक्कापञ्जा कमेडी टूर’का लागि हाल अमेरिका भ्रमणमा रहेका गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्। उनले देशमा आएको राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिका कारण यसपटकको दशैं सोचेजस्तो हुन नसकेको उल्लेख गर्दै आफूहरूले पनि यो वर्ष चलचित्रल्याउन नसकेकोमा दुःख व्यक्त गरेका छन्। यद्यपि, उनले यस वर्ष दशैंमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दर्शकले दिएको मायाका लागि धन्यवाद दिएका छन्। “अर्को साल दशैमा भेटौला!” भन्दै उनले दर्शकमा उत्साह जगाएका छन्।
कुन चलचित्र दशैंमा आउनेछ भन्ने विषयमा दीपकले अहिले कुनै खुलासा गरेका छैनन्। प्रायः दशैंको अवसर पारेर फिल्म रिलिज गर्ने दीपकको टिम यसपटक भने दर्शकसामु आउन सकेन। हाल दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतको टोली अमेरिकाका विभिन्न शहरहरूमा आफ्नो एक महिने लामो ‘छक्कापञ्जा टूर’मा व्यस्त छ। उनले दर्शकहरूबाट यस टूरमा अपार माया पाइरहेको बताएका छन्।









Discussion about this post