विशेष अनलाइन । सामाजिक नाट्य शैलिको चलचित्र ‘कोशेढुंगा’ बिहीबारदेखि औपचारिक रूपमा प्रदर्शनमा आएको छ। देशभर एकसाथ १०३ शोमा रिलिज भएको फिल्मलाई पहिलो दिनमै राम्रो सुरुवात मिलेको निर्माण पक्षले जनाएको छ।
सर्वकालीन हिट ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ प्रस्तुति रहेको यस चलचित्रको प्रिमियरमा पनि दर्शक र समीक्षक दुवैले सकारात्मक प्रतिक्रिया दिएका थिए।
चलचित्रलाइ भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको दिनलाई विशेष मान्दै रिलिज गरिएको हो। हिन्दू परम्पराअनुसार यस दिन व्रत गर्ने महिलाले सप्तऋषिहरूको पूजा गर्ने परम्परा छ। त्यही प्रसंगसँग मेल खाने गरी ‘कोशेढुंगा’ को कथा पनि महिलाको जीवन संघर्ष र पहिचानमाथि आधारित रहेको छ। ग्रामीण परिवेशलाई पृष्ठभूमि बनाएर खिचिएको यसमा महिलाले भोग्ने सामाजिक कठिनाइ र भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ।
चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा र आर्यन सिग्देलले मुख्य भूमिकामा अभिनय गरेका छन्। १४४ मिनेट लामो यस चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ।
नेपालमा सेभेन सिज इन्टरनेशनलमार्फत रिलिज भएको चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा शुक्रबारदेखि प्रदर्शन सुरु भइसकेको छ भने मध्यपूर्व र अमेरिकामा आजदेखि देखाइने वितरक रमेश ढकालले जानकारी दिएका छन्।









Discussion about this post