विशेष अनलाइन । मल्टिप्लेक्स चेन आईएनआईले अबदेखि आफ्ना हलमा हुने कमर्सियल शो मा क्यामेरा तथा बुम प्रयोगमा रोक लगाउने घोषणा गरेको छ।
संस्थाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिल्म प्रदर्शनका क्रममा पत्रकार वा सञ्चारमाध्यमका प्रतिनिधि उपस्थित भएर प्रश्न सोध्दा अन्य दर्शकलाई असुविधा हुने, व्यक्तिगत गोपनीयता उल्लंघन हुने जस्ता गुनासा बढिरहेका कारण यो निर्णय लिइएको हो।”
आईएनआईले प्रिमियर, ट्रेलर/गीत सार्वजनिक कार्यक्रम वा विशेष आमन्त्रण कार्यक्रममा भने यो नियम लागू नहुने स्पष्ट पारेको छ। तर, साधारण कमर्सियल शो हेर्न आउने दर्शकलाई अब हलभित्र क्यामेरा देखाएर अन्तर्वार्ता लिन वा बुम हालेर प्रश्न गर्न पाइने छैन।
यो निर्णय तत्कालै गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलको विश्वज्योति मल, बुटवल सिटी सेन्टर र सिमराको केएसआर हलमा कार्यान्वयन हुने जनाएको छ।
हालैका दिनमा केही शोका बीचमा सञ्चारमाध्यमको गतिविधिले फिल्म अवलोकनमा बाधा पुर्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो। यसै पृष्ठभूमिमा आईएनआईले दर्शकअनुकूल वातावरण सुरक्षित गर्न पहिलोपटक यस्तो संस्थागत कदम चालेको हो।









Discussion about this post