विशेष अनलाइन । अभिनेत्री निरुता सिंह नेपाली चलचित्र ‘३६ को आँकडा’मा अभिनय गर्न काठमाडौं आएकी छिन्। रेखा थापाको होम प्रोडक्सनमा बन्ने यो चलचित्रको छायांकन सोमबार देखि सुरु भएको छ।
मुम्बईमा बस्दै आएकी निरुता आइतबार राति काठमाडौं आइपुग्दा मिडियासँग कुरा गर्दै उत्साहित देखिइन्। उनले अब नेपाली चलचित्रमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाइन्। “बीचमा कोरोना भाइरसका कारण चलचित्र गर्न सकिनँ, अब भने म कहीँ जाँदिनँ, निरन्तर नेपाली चलचित्रमै सक्रिय हुन्छु,” उनले भनिन्।
निरुताको भूमिकाबारे भने चलचित्रका निर्देशक सविर श्रेष्ठले खुलाउन चाहेनन्। तर उनले निरुतालाई चलचित्रमा कास्ट गर्नुको कारण प्रष्ट पार्दै भने, “सहायक निर्देशक हुँदा निरुता दिदीसँग काम गरेको थिएँ, तर निर्देशक भएपछि मौका पाएको थिइनँ। चलचित्रको कथामा उहाँकै उपस्थिती चाहिन्थ्यो।”
‘३६ को आँकडा’ मा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्का पनि अभिनय गर्दैछन्। ‘दुई पल’पछि निरुता र रेखा पहिलोपटक एउटै पर्दामा देखिँदैछन्। नायिका सिंहको पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ हो। त्यसपछि लामो अन्तरालपछि उनी पुनः नयाँ चलचित्र मार्फत दर्शकमाझ आउन लागेकी हुन्।









Discussion about this post