विशेष अनलाइन । लक्ष्मण सुवेदीको निर्देशित चलचित्र ‘सतीदेवी’को अमेरिका प्रदर्शन तय भएको छ । हरितालिका तीजको अवसर पारेर आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्ट) अमेरिकाको भर्जिनिया राज्यमा फिल्मको विशेष प्रदर्शनी हुन लागेको हो ।
भर्जिनियाको तन्दुरी फेयरफ्याक्स पार्टी प्यालेसमा साँझ ५ बजे सुरु हुने प्रदर्शनको टिकट मूल्य १५ डलर तोकिएको छ। ‘ठूली’का निर्माता समेत रहेका पुष्कर पन्तको समूहले शो आयोजना गर्न लागेको हो। पन्तका अनुसार महिला–प्रधान मौलिक कथावस्तु भएकाले ‘सतीदेवी’लाई अमेरिकामा दर्शकसम्म पुर्याउने लक्ष्य राखिएको हो।
निर्देशक सुवेदीले भर्जिनियापछि अन्य अमेरिकी राज्यहरूमा पनि विशेष प्रदर्शन हुने जानकारी दिएका छन्। चलचित्र विकास बोर्डबाट राष्ट्रिय चलचित्र अवार्ड–२०८० मा विशेष चलचित्र पुरस्कार जितेको ‘सतीदेवी’ले अहिलेसम्म विभिन्न विधामा एक दर्जनभन्दा बढी अवार्ड हात पारेको छ।
निर्देशक सुवेदीकै लेखन, निर्माण र निर्देशनमा तयार भएको यचलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँको अभिनय रहेको छ।









Discussion about this post