विशेष अनलाइन । यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ। अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो। चलचित्र प्रदर्शन मिति सेटमै छायांकन भइरहेका बेला घोषणा गरिएको हो।
निर्देशक शेर्पाका अनुसार, “वितरक र प्रदर्शकहरूसँगको गहिरो छलफलपछि माघ १ गते रिलिज गर्ने निर्णयमा पुगेका हौँ।”
हाल चलचित्रको अन्तिम चरणको छायांकन चित्लाङ, मकवानपुरमा भइरहेको छ। निर्माण टिमका अनुसार बाँकी छायांकन आगामी दुई साताभित्रमा सम्पन्न हुनेछ। काभ्रेपलाञ्चोक चलचित्रको प्रमुख लोकेशन भए पनि केही महत्त्वपूर्ण दृश्य चित्लाङमा खिचिएका छन्।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मिरमिरे’ मा दयाहाङ राई, लोकगायक तथा अभिनेता प्रकाश सपूत, र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। साथमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, र भोलाराज सापकोटा जस्ता अनुभवी कलाकारहरूको अभिनय चलचित्रमा देख्न पाइनेछ।
बाल कलाकारहरूमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले पनि फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन्।
चलचित्रको छायांकन जिम्मेवारी आलोक शुक्लाले लिएका छन्। चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन्। सह-निर्माताको रूपमा गोविन्द बोहरा र सुदिप कुँवर रहेका छन् भने वितरक रोहित कट्टेल कार्यकारी निर्माता हुन्।
‘मिरमिरे’ सामाजिक कथामा आधारित चलचित्र हो जसले ग्रामीण परिवेश र मानवीय सम्बन्धको संवेदनशील चित्रण गर्ने लक्ष्य राखेको छ।









Discussion about this post