इटहरी / सुपरस्टार अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । ‘राधे’ भारतसँगै संसारका ४० भन्दा बढी देशमा एकसाथ रिलिज भएको छ ।
नेपालमा पनि ‘राधे’को चर्चा भैरहेको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको चर्चा सुरु भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यो फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिज अन्तर्गतको ए-एठ् कम्पनीले लिएको बताइएको छ । मन्त्रालयले दिएको निर्देशनपछि सेन्सर नहुँन्जेल सम्मका लागी फिल्मको नेपाल रिलिज रोकिएको छ । नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने उल्लेख गरिएको छ ।
चलचित्र विकास बोर्डले आगामी आर्थिक ऐनमा ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस समेत गरेको छ । हिन्दी फिल्मबाट बोर्डले १५ प्रतिशत विकास शुल्क उठाउँदै आएको भए पनि ओटीटीमा रिलिज हुने हिन्दी फिल्मबाट अहिले सम्म रकम उठ्न सकेको छैन ।
अभिनेता सलमान खानले एक भिडियो सन्देश जारी गर्दै नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह समेत गरेका छन् । त्यससँगै अभिनेता खानले राधेको सिक्वेल निर्माण गर्ने समेत बताएका छन् ।
‘राधे’ हेरेका दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
प्रभु देवा निर्देशित फिल्म ‘राधे’ लाई नेपाली दर्शकले ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा हेर्न पाउनेछन् । फिल्म हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क निर्धारण गरेका छन् ।
Discussion about this post